प्रदेशसभाको वार्षिकोत्सव

8

धनुषा, २१ माघ (रासस) ः
प्रदेश नं २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले प्रदेशको नाम, भाषा तथा राजधानी अहिलेसम्म नतोकिएकाले प्रदेशसभाबाट शीघ्र निर्णय गर्नका लागि शुभकामना दिनुभएको छ । प्रदेश नं २ को प्रदेशसभाको पहिलो वार्षिकोत्सव समारोहमा बोल्दै उहाँले सङ्घीयतापश्चात् पहिलोपटक स्थापित प्रदेशसभाले पहिलो वर्ष पूरा गरेकामा शुभकामना तथा उत्तरोत्तर प्रगतिको कामनासमेत गर्नुभयो ।
सो कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले कर्मचारी अभावले प्रदेशको कार्य गर्न कठिनाइ भइरहेको बताउनुभयो । आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले प्रदेशमा कानून निर्माण गर्नका लागि सबै दलको सहयोग प्राप्त भइरहेको विचार प्रस्तुत गर्नुभयो ।
खेल, रक्तदान, वृक्षरोपण जस्ता त्रिदिवसीय कार्यक्रम गरी प्रदेशसभाले पहिलो वार्षिकोत्सव मनाएको छ । कार्यक्रममा उत्कृष्ट प्रदेशसभा सदस्य पुरस्कार सांसद शिवचन्द्र चौधरीलाई रु ५१ हजार तथा सम्मानपत्रसहित प्रदान गरिएको थियो भने उत्कृष्ट कर्मचारीको पुरस्कार रञ्जीत राय यादवलाई रु ५१ हजार नगद तथा सम्मानपत्रसहित प्रदान गरिएको छ । कार्यक्रममा विधेयकको सङ्ग्रहित पुस्तक विमोचन गर्नुका साथै कवीर अनाथ बाल आश्रमका बालबालिकालाई लत्ताकपडा वितरण गरिएको थियो ।
ठूलो उपलब्धि
प्रदेश २ का मुख्यमन्त्री राउतले सङ्घीयता शुरु भएको एक वर्षमा प्रदेशसभाले ठूलो उपलब्धि प्राप्त गर्न सफल भएको बताउनुभएको छ । प्रदेशसभाको प्रथम वार्षिकोत्सवलाई संसद्मा सम्बोधन गर्दै मुख्यमन्त्री राउतले सत्ताधारी दल, प्रमुख प्रतिपक्षी र प्रतिपक्षी दलको प्रजातान्त्रिक शैलीलाई प्रशंसा गर्दै एक वर्षको अवधि उपलब्धिमूलक रहेको बताउनुभयो ।
भौतिक पूर्वाधार विकासमन्त्री जीतेन्द्र सोनारले प्रदेशसभाबाट केही असहमतिबाहेक १६ वटा विधेयक पास भएको र आगामी दिनमा समेत यस्तै सहयोगको अपेक्षा गर्दै प्रदेश समृद्धिका निमित्त सत्ता र प्रतिपक्षको सहकार्यमा जोड दिनुभयो । नेकपाका सांसद सत्यनारायण मण्डलले सरकारले विभिन्न आयोग गठन गर्दा प्रतिपक्षीलाई सोधपुछ नगरिएकामा गुनासो गर्दै आगामी दिन सरकारको यस्तो व्यवहारलाई सुधार गर्न सुझाव दिनुभयो ।
यसैगरी नेपाली काङ्ग्रेस संसदीय दलका नेता रामसरोज यादवले प्रदेशसभाको पहिलो वर्ष उपलब्धिमूलक भए पनि प्रदेशको नाम तोक्न चुकेको बताउनुभयो । आजको बैठकमा भौतिक पूर्वाधार तथा विकासमन्त्री जीतेन्द्र सोनालले ‘प्रादेशिक विद्युत्सम्बन्धी विधेयक, २०७५ दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव पेश गर्नुभयो ।
काङ्ग्रेसलाई सिध्याउने प्रयास गरेको आरोप
नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले काङ्ग्रेसलाई सिध्याउने प्रयास गर्नेको पत्ता साफ हुने बताउनुभएको छ । सुनसरी सदरमुकाम इनरुवामा काङ्ग्रेसले आयोजना गरेको बृहत् विरोधसभा कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेता गच्छदारले वर्तमान सरकार काङ्ग्रेस सिध्याउन र कमजोर पार्न बल प्रयोगमा उत्रिन थालेको आरोप लगाउनुभयो ।
विरोधसभा कार्यक्रमलाई काङ्ग्रेसका केन्द्रीय ज्ञानेन्द्रबहादुर कार्की, मिनबहादुर विश्वकर्मा प्रदेश एकका प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइराला, सङ्घीय सांसद सीताराम मेहता, १ नं प्रदेशसभा सांसद ज्योति सुब्बा, नवोदिता चौधरी लगायतले सम्बोधन गर्नुभएको थियो ।