लागुऔषध कारोवारमा संलग्न तीन भारतीयसहित छ पक्राउ

15

वीरगंज, २१ माघ ।
सीमा क्षेत्रमा हुने लागुऔषध ओसार तथा भन्सार छली गरिने अवैध कारोवारलाई नियन्त्रण गर्न चलाइएको अभियानमा पर्सा प्रहरीले ठूलो सफलता हात परेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्जका विभिन्न स्थानबाट २१ किलो चरेससहित पाँच, नौ सय थान नाइटूोभेट ट्याब्लेटसहित एक र भारतबाट भन्सार छली भित्र्याइएको रु ३३ लाख भन्दा बढी मूल्यको कपडा चितवनको माडी तर्फ लैंजादै गरेको अवस्थामा ठोरी गाउँपालिकाबाट सो कपडासहित तीन जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका सबै अभियुक्तलाई आजै पर्सा प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । विशेष सूचनाको आधारमा वीरगञ्जको रानीघाटबाट ११ किलो चरेससहित रामबालकप्रसाद बिन, मकवानपुर थाहा नगरपालिका–८ निवासी सोमाल थिङ्ग र भारतको कानपुर निवासी मयङ्क बाजपेईलाई नियन्त्रणमा लिइएको छ । आज बिहान १० किलो चरेससहित वीरगञ्ज महानगरपालिका–१६ बाट भारत उत्तर प्रदेश प्रतापगढ निवासी मैनुदिन अन्सारी र भारत विहार मोतिहारी निवासी अमरुल्लाह अन्सारीलाई नियन्त्रणमा लिइएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिनुभयो ।
त्यस्तै वीरगञ्जको इनर्वाबाट नौ सय थान नाइटूोभेट ट्याब्लेटसहित कञ्चनपुरको भीमदत्त नगरपालिका(९ निवासी दिपेन्द्र पनेरुलाई नियन्त्रणमा लिइएको उपरीक्षक ढकालले बताउनुभयो ।

यसैबीच आज बिहान आईतबार ईलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा लु १ ख ३३१० नम्बरको ट्रकबाट अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याएको धान–१०५ बोरा र कपडा १९ पोका कुर्ता सुरुवाल ३०४ पिस, सर्टिङगा ३०० मिटर, कुर्ता कपडा २०६० मिटर र साडि ८८ पिस बरामद भएपछि आवश्यक अनुसन्धानका लागि ट्रकधनी चितवन माडी–२ निवासी ४४ वर्षीय ऋषि सुवेदी, चालक २६ वर्षीय प्रकाश राई र सहचालक १९ वर्षीय सुजन राईलाई नियन्त्रणमा लिइएको उपरीक्षक ढकालले जानकारी दिनुभयो ।
लागुऔषधसहित पक्राउ परेका ६ जनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी आवश्यक अनुसन्धान भइरहेको छ भने बरामद भएको कपडा र पक्राउ परेका व्यक्तिलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाउने तयारी भएको प्रहरीले जनाएको छ ।