संतोष रन्जितकार
वीरगंज, २२ माघ ।
वीरगंज महानगरपालिका वडा नं. १६ भन्सारको मुल गेटमा वीरगंज भन्सार राजश्व अनुसन्धान विभाग गुल्मबाट खटिएको डिउटी टोलीले अवैध लागुऔषध सहित मंगलबार एक जनालाई पक्राउ गरेको छ ।
वीरगंज महानगरपालिका वडा नं. १६ भन्सारको मुल गेटमा वीरगंज भन्सार राजश्व अनुसन्धान विभाग गुल्मबाट खटिएको डिउटी टोलीले मंगलबार १० बजेको समयमा चेकजाँचको क्रममा जिल्ला ललितपुर महानगरपालिका वडा नं. २२ बस्ने सुबिन पाण्डे देउलाको छोरा वर्ष २२ को सुजन देउलाले आफ्नो शरीरमा डाइजेल्याब १५ पिस, नुर्फिन १५ पिस, फेनारगन १५ पिस लुकाईछिपाई भारतको रक्सौलबाट नेपालतर्फ ल्याउंदै गरेको अवस्थामा लागुऔषध सहित देउलालाई पक्राउ गरिएको हो । प्रहरीले देउलालाई नियन्त्रणमा लिई आवश्यक कारवाही प्रक्रियाको लागि प्रहरी चौकी इनर्वा पर्सामा पठाइएको वीरगंज भन्सार राजश्व अनुसन्धान विभागको सशस्त्र प्रहरी तिलक बहादुर खडकाले जानकारी दिनुभयो ।
त्यसैगरी वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरिक्षक निशान थापा र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी कुम्हालटोलको संयुक्तमा खटिएको टोलीले अवैध घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ । नगवा र कुम्हालटोलको विभिन्न रक्सी पसलहरुबाट घरेलु मदिरा बरामद गरी नष्ट गरेको हो । सूचनाको आधारमा बरामद गरिएको सो अवैध घरेलु मदिरा ३ सय लिटर रहेको प्रहरी निरिक्षक थापाले जानकारी दिनुभयो । सो नष्ट कार्यमा सामुदायिक सेवा केन्द्र कुम्हालटोलका अध्यक्ष रमेश चौधरी, सचिव श्रवण राय माझी, प्रहरी कुमार विक, महिला प्रहरी सुनिता विक लगायतको सहभागिता रहेको थियो ।