संतोष रन्जितकार
वीरगंज, २४ माघ ।
पर्साबाट खटेको प्रहरी टोलीले बिहिबार नेपालबाट भारततर्फ लैजादै गरेको अवस्थामा अवैध मरिच सहित अटो रिक्सा र चालकलाई पक्राउ गरेको छ । गैरकानूनी तरिकाले नेपालबाट भारततर्फ लैजादै गरेको अवस्थामा प्रहरीले जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं. ७ बस्ने वर्ष २३ को सहनाज शेख सहित ना१ह ४५८३ नम्बरको अटोरिक्सालाई पक्राउ गरिएको हो । बरामद गरिएको सो मरिच ५० किलो रहेको थियो । पक्राउ गरिएको अटोरिक्सा, मरिच र निज शेखलाई आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाइएको प्रहरीले जनाएको छ ।
त्यसैगरी ईलाका प्रहरी कार्यालय सेढवा र प्रहरी चौकी पाण्डेपुर पर्साबाट खटिएको संयुक्त प्रहरी गस्ती टोलीले गस्ती गर्ने क्रममा बुधबार पर्सा जगरनाथपुर गाउँपालिका वडा नं. ४ मोडटोलबाट अवैध सालको काठ बरामद गरेको छ । बरामद गरिएको सो सालको काठ ६ थान रहेको र सोको लम्बाई ६ फिट ,चौडाई २.५ फिट रहेको थियो । सो काठलाई आवश्यक कारवाहीको लागि जिल्ला वन कार्यालय पर्सामा बुझाइएको छ ।
यसैबीच बिभिन्न मितिमा जिल्ला प्रहरी कार्यालय तथा मातहत कार्यालय समेतबाट खटिएको प्रहरी टोलीले बिभिन्न स्थानबाट भन्सार छली पैठारी गरी नेपाल भित्र्याइएको विभिन्न किसिमको तयारी तथा थान कपडाहरू, सुर्ति, मोटरसाईकलका पार्टस, किराना मालसमान बेवारिसे अवस्थामा फेलापारी बरामद गरिएको थियो । बरामद गरिएको सो सामानहरुको मुल्य रू.४ लाख २० हजार बराबरको रहेको प्रहरीले जनाएको थियो । बरामद गरीएको सो सामानहरुलाई बिहिबार आवश्यक कारवाहीको लागि भन्सार कार्यालय वीरगंज पर्सामा पठाईएको प्रहरीले जनाएको थियो ।