बालविवाह तथा दाइजोप्रथा सम्बन्धि सांस्कृतिक कार्यक्रम प्रदर्शन

40

संतोष रन्जितकार
वीरगंज, २५ माघ ।
पर्साको सखुवा प्रसौनी गाउँपालिकाको वडा नं. ५ महुवनमा सांस्कृतिक तथा नाटक प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ । बालविवाह तथा दाइजोप्रथा सम्बन्धी विद्यालय स्तरिय कार्यक्रम अन्तर्गत भएको कार्यक्रममा गाउँपालिका अन्तर्गतका ४ वटा माध्यमिक विद्यालयका छात्र/छात्राहरुले गीत, नृत्य तथा चेतनामूलक नाटक प्रस्तुत गरेका थिए । श्री ने.रा.मा.वि. महुवनमा भएको कार्यक्रममा विद्यार्थीहरुले समाजमा विद्यमान रहेको सामाजिक कुरिती बालविवाह तथा दाईजोप्रथा सम्बन्धि नाटक प्रस्तुत गर्दै बालविवाह गर्नु हुन्न र दाइजो लिनु हुन्न भने संदेश दिएका थिए । सखुवाप्रसौनी गाउँपालिकाको सहयोगमा र ब्रिलिएन्ट युवा क्लबको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको थियो । आयोजक संस्थाका अध्यक्ष छठु साहको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गाउँपालिका अध्यक्ष प्रदिप जयसवालले गरेका थिए । कार्यक्रमको उदघाटन गर्दै अध्यक्ष जयसवालले गाउँपालिकालाई बालविवाह तथा दाइजोमुक्त बनाइने बताए । बालबालिकाहरुको पढाईको साथ–साथै अतिरिक्त क्रियाकलापमा पनि ध्यान दिनुपर्ने उनको भनाई थियो । कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष फुलमती देवी चौधरी, प्रमुख प्रशासकिय अधिकृत सन्देश कुमार यादव, वडा अध्यक्ष लालबाबु यादव, जमोदिन मियाँ, सलिम मियाँ, रामबालक राम, विश्वनाथ पटवारी लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन आयोजक संस्थाका कार्यक्रम संयोजक शम्भु कुमार सुमनले गरेका थिए भने स्वागत भाषण श्री ने.रा.मा.वि. महुवनका प्रअ रामदेव प्रसाद कुर्मीले गरेका थिए । कार्यक्रममा सहभागिहरुलाई प्रमाण पत्र र पुरस्कार समेत वितरण गरिएको थियो ।