प्रदेश उद्योग व्यवस्थापन विधेयक परिमार्जन सम्बन्धमा छलफल

8

वीरगंज, २६ माघ ।
वीरगंज उद्योग वाणिज्य संघको सभाकक्ष शनिबार प्रदेश नं. २ का मुख्यमन्त्री म.लालबाबु राउतको समउपस्थितिमा प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश राय, प्रदेश सभा सदस्य सिंहासन साह, मुख्य न्यायधिवक्ता दिपेन्द्र झा तथा स्थानिय उद्योगी व्यवसायी बीच प्रदेश सरकारले मस्यौदा गरेको “प्रदेश उद्योग व्यवस्थापन विधेयक, २०७५” मा उल्लेखित प्रावधानमा हुनपर्ने परिमार्जन सम्बन्धमा व्यापक छलफल भएको छ ।
छलफलको क्रममा प्रमुख अतिथि प्रदेश नम्बर २ का मुख्य मन्त्री महम्मद लालबाबु राउतले प्रदेश नम्बर २ को आर्थिक विकास, उद्योग व्यापारको प्रवद्र्धन गर्न नीजि क्षेत्र संग सहकार्य गरेर अघि बढने प्रतिबद्धता अनुरुप नै आजको यस विधेयकको छलफल गरेको बताउनु भयो ।
कार्यक्रमको अध्यक्षता गरिरहनु भएका वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले मुलकको आर्थिक अवस्था निरन्तर खस्किदै गएको अवस्थामा उद्योगको प्रवद्र्धनको लागि सरकारले कुनै खासै भुमिका नखेलेको हुँदा उद्योगी व्यवसायीबाट व्यक्त सुझावलाई मस्यौदामा सकेसम्म समावेश गरी उद्योग मैत्री नीति र कानून बनाउनु पर्ने धारणा व्यक्त गर्नु भएको थियो ।
आपसी छलफलद्वारा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश रायको संयोकत्वमा ११ सदस्यीय उद्योग व्यवस्थापन विधेयक परिमार्जन समिति गठन गरिएको थियो । सो समितिमा वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाको नेतृत्वमा संघका पूर्व अध्यक्ष क्रमशः गणेश लाठ, अशोक टेमानी, अशोक बैध, पूर्व उपाध्यक्ष जगदीश अग्रवालका साथै डाबर नेपाल प्रा.लि. बाराका महाप्रबन्धक कैलाशराम चौरसिया तथा जगदम्बा स्टील इण्डष्ट्रीजका महाप्रबन्धक अनुराग शर्मा समेत ६ सदस्यको सहभागिता रहने छ । समितिले अगामी १५ दिन भित्र प्रदेश सरकारद्वारा तयार परिएको प्रदेश उद्योग व्यवस्थापन विधेयक–२०७५ मा हुनुपर्ने परिमार्जन सम्बन्धी सुझाव सहितको प्रतिवेदन पेश गरेपछि विधेयकलाई आवश्यकता अनुसार परिमार्जन गरी प्रदेश सरकारबाट विधेयक पारित गर्ने सम्बन्धी कारवाही अगाडी बढाइने जानकारी गराइएको थियो ।