संतोष रन्जितकार
वीरगंज, २८ माघ ।
प्रहरीले वीरगञ्जबाट लागूऔषध चरेशसहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारत पश्चिम बंगाल कोलकता–११ नारगेल मेनरोडका ३८ वर्षीय मोहमद सकिल र २६ वर्षीय मोहमद फरिद पक्राउ परेका हुन् ।
वीरगञ्ज महानगरपालिका–१६ शंकराचार्य गेट नजिकबाटै पक्राउ परेका उनीहरुको साथबाट लागूऔषध चरेश १० किलो बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । प्रहरी चौकी ईनर्वा, पर्साबाट खटिएको प्रहरीले चेकजाँचका क्रममा नेपालबाट भारततर्फ पैदल जाँदै गरेका उनीहरुले शरीरमा लुकाई लैजाँदै गरेको अवस्थामा चरेश बरामद गरेको प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए । उनीहरुलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ ।
यसैगरि सर्लाहीबाट प्रहरीले लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले लहान नगरपालिका–१३ सेतिभिर बस्ने २८ वर्षीय हर्कबहादुर ब्लोनलाई ५ किलो गाँजासहित पक्राउ गरेको हो ।
आइतबार साँझ प्रहरीले पक्राउ परेका उनलाई आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय लालबन्दीमा राखिएको छ ।
विशेष सूचनाको आधारमा प्रहरी चौकी पत्थरकोटबाट गएको टोलीले गाँजासहित ब्लोनलाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय, प्रदेश नं. २ का प्रवक्ता प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले जानकारी दिए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।