कांग्रेसको विवाद अन्त्य भएमात्रै कांग्रेस बलियो हुन्छ ः सुजाता कोइराला, वर्तमान सरकारको एक वर्षे कार्यकाल उपलब्धि विहिन ः डा. शशांक कोइराला, निर्मला पन्तको बलात्कारी र हत्याराहरु बालुवाटारमा छन ः डा. शेखर कोइराला

41

वीरगन्ज, ४ फागुन ।
गिरिजाप्रसाद कोइराला फाउन्डेसन पर्साले आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला, फाउण्डेशनकी अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री माननीय सुजाता कोइराला र नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाको वीरगंजमा भव्य स्वागत भएको छ । वीरगन्जमा गिरिजा प्रसाद कोइराला फाउण्डेशन पर्साको निमन्त्रणामा आइपुगेका लोकतन्त्र शान्ति र विकासको लागि फोटो प्रदर्शनी, विचार गोष्ठी तथा कार्यालय उद्घाटन समारोहमा आईपुगेका कोइराला परिवारका तीन नेतालाई फाउण्डेशन पर्साका अध्यक्ष महम्मद शहाबुद्दिनले १२१ किलोको माला लगाएर सबैको स्वागत गरेका थिए ।


जि.पी.कोइराला फाउण्डेशनका केन्द्रिय अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री सुजाता कोइराला, नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइराला र केन्द्रिय सदस्य डा.शेखर कोइरालाले संयुक्त रुपमा द्विप प्रज्वलन गरी कार्यालयको उदघाटन गर्नु भएको थियो ।
सो कार्यक्रमको प्रमुख अतिथि फाउण्डेशनका केन्द्रिय अध्यक्ष सुजाता कोइरालाले कांग्रेस भित्रको विवाद अन्त्य भएपछि मात्रै कांग्रेस बलियो हुने बताउंदै भाषणले मात्र कोही नेता नहुने नेताको लागि चाहिने गुणपनि आवश्यक भएको बताउनु भयो ।
वहाँले हामी कोइराला परिवार एक छौं विभाजित छैनौ भन्दै यस सन्दर्भमा कसैले टाउको दुखाउनु जरुरी नभएको बताउनु भयो । उनले यो फाउण्डेशन कांग्रेसको मात्र नभएर सबैको भएको चर्चा गर्दै शिक्षा, स्वास्थ्य र बेरोजगारी उन्मुलनको सन्दर्भमा कार्यक्रम गरेर अगाडी बढ्ने बताउनु भयो ।
सो कार्यक्रममा सम्बोधन गर्दै नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेपाली कांग्रेस गुट–उपगुटमा ग्रसित भएको छ । मैले पार्टी सभापति शेरबहाुदरजीलाई अब तपाई सभापति हुनुभयो यो मेरो मान्छे तेरो मान्छे भनेर नहिडनुस् भनेर सल्लाह दिएको चर्चा गर्दै यो सरकारको एक वर्षे कार्यक्रम उपलब्धि विहिन भएको बताउनु भयो ।
त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले यो मुलुकमा गणतन्त्र नेपाली जनताको लागि नभई राष्ट्रपति र प्रधानमन्त्रीको लागि मात्रै आएको बताउनु भयो । संघीयतालाई धरापमा पार्न खोजिदैछ । मधेशवादी दलहरुले संघीयता जोगाउन सक्दैनन् । संघीयतालाई वर्तमान सरकारबाट नै खतरा भएको र मधेशवादी दलहरु पनि सरकारमै भएकोले उनीहरुबाट संघीयता जोगिदैन, संघीयता जोगाउन नेपाली कांग्रेसले मात्रै सक्छ भन्नु भयो । डा. कोइरालाले यो सरकार अधिनायकवाद तर्फ उन्मुख भएको चर्चा गर्दै वर्तमान प्रधान न्यायाधिशलाई दुई तिहाईको दम्भको माला लगाएर पठाएकोले अदालत राजश्व अनुसन्धान, राष्ट्रिय अनुसन्धान लगायतका निकायहरु सोझै प्रधानमन्त्रीको मातहतमा गइसकेको आरोप लगाउंदै यो सरकारले नेपाली सेनालाई समेत विवादमा फसाउंने काम गरेको छ ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै डा. कोइरालाले निर्मला पन्तका बलात्कारी र हत्याराहरु बालुवाटारमा रहेको आरोप लगाउनु भयो । नेपाली कांग्रेस तदर्थवादमा चल्न नसक्ने भएकोले महाधिवेशन बेलामै गर्नपर्छ भन्नु भयो ।
जी.पी.फाउन्डेशन पर्साका अध्यक्ष महम्मद सहाबुदिनको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश रिजाल, अजय चौरसिया, अफताब आलम, नेपाली कांग्रेसका नेता एव पूर्व मन्त्री सुरेन्द्र चौधरी, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.गोविन्द पोखरेल, नेपाली कांग्रेस पर्साका सभापति अजय द्विवेदी, पूर्व सांसद राजेन्द्र बहादुर अमात्य, प्रदेश सभा सदस्य राजेश्वर साह तेली, शंकर चौधरी, ओम प्रकाश शर्मा, जि.पी फाउण्डेशन प्रदेश नं. २ का अध्यक्ष डा. शुभाषचन्द्र यादव लगायतका वक्ताहरुले मन्तव्य व्यक्त गर्नु भएको थियो ।