मध्यप्रदेश दैनिकको विमोचन

6

संतोष रन्जितकार
वीरगंज, ५ फागुन ।
मध्य प्रदेश दैनिक पत्रिकाको आइतबार पर्साको पोखरियामा विमोचन कार्यक्रम सम्पन्न भएको छ । पोखरियाको हनुमान मन्दिर परिसरमा एक कार्यक्रमको आयोजना गरी सो पत्रिकाको विमोचन गरिएको हो । कार्यक्रममा बोल्दै प्रदेश सांसद राजेश्वर साह तेलीले विकासमा पछाडी परेको ग्रामिण भेगबाट निस्कने पत्रिकाले सूचनाको पँहुचमा सहयोग पुग्ने बताए । अहिलेको अवश्यकता विकासे पत्रकारिता रहेको बताउदै सांसद साहले पत्रिकाको भुमिका ग्रामिण भेगको विकासको लागि हुनु पर्नेमा जोड दिएका थिए । पोखरिया नगरपालिकाका मेयर दिपनारायण रौनियारले पर्साको दोस्रो सदरमुकामको रुपमा रहेको पोखरियाको विकासको लागि प्रदेश सरकारलाई सहयोग गर्न आग्रह गरेका थिए ।
उनले पत्रिकालाई एक थान कम्प्यूटर सहयोग गर्ने बताए । पोखरिया नगरपालिकाकी उप–मेयर सलमा खातुनले पत्रिका ग्रामिण भेगको जनाताको अवाज बन्नु पर्ने बताउंदै विकासे पत्रकारितामा जोड दिइन । पटेर्वा सुगौली गाउँपालिकाकी उप–प्रमुख ममता महतोले भौतिक विकासले मात्र नहुने बताउदै समाजिक विकास पनि आवश्यक रहेको बताइन ।
संचारकर्मी समेत रहेका गैसस महासंघ नेपाल पर्साका अध्यक्ष छठु साहले ग्रामिण भेगको पत्रकारहरुको बारेमा पनि स्थानिय तहले सोच्नु पर्ने बताए । पत्रिकाका प्रबन्ध निर्देशक लालबाबु बानियाँको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सम्पादक नरेन्द्र साहले गरेका थिए भने स्वागत मन्तव्य स्थानिय पत्रकार धर्मेन्द्र चौरसियाले गरेका थिए ।
कार्यक्रममा पूर्व सांसद प्रधुमन चौहान, रामेश्वर रौनियार, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बञ्जारा, राजापाका सह महासचिव नेजामुदिन समानी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । पत्रिकाको प्रकाशकमा राजन कुमार बानिया रहेका छन ।