नेपाल कृषि प्रधान मुलुक भएपनि राज्यको उदासिनताले कृषि क्षेत्र पछाडी पर्दै गएको छ ः मेयर सरावगी

19

संतोष रन्जितकार
वीरगन्ज, ८ फागुन ।
वीरगन्ज महानगरपालिकाका नगर प्रमुख बिजय कुमार सरावगीले कृषि व्यवसायलाई अझ प्रभावकारी बनाउन कृषि बिउ व्यवसायीहरुलाई अनुरोध गर्नुभएको छ । नेपाल बिउ व्यवसायी संघ प्रदेश नम्बर २ दोश्रो वार्षिक साधारण सभाको उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख सरावगीले यस्तो धारण व्यक्त गर्नुभएको हो । उहाले सुहाउँदो माटो र हावापानि अनुसारको बीजले मात्र कृषकको अपेक्षा अनुसारको बाली उत्पादन हुने भएकोले त्यसै अनुसारको बीउ बिक्री गर्दा बिउ व्यवसाय क्षेत्र अझ प्रभावकारी बन्ने बताउनु भयो । नगर प्रमुख सरावगीले नेपाल कृषि प्रधान मुलुक भएपनि राज्यको उदासिन्ताले यो क्षेत्र थलो पर्दै गएको बताउदै महानगर भित्रको कृषिलाई प्रभावकारी बनाउन कृषि कर्मचारी, बिउ व्यवसायी र महानगरपालिकाले संयुक्त रुपमा सहकार्य गर्न आफु तयार रहेको बताउनु भयो ।
प्रदेश अध्यक्ष सुनिल कुमार साहको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कृषि अनुसन्धान केन्द्र परवानीपुरका निर्देशक तुर्फेल अख्तर, बिउ व्यवसायी संघका केन्द्रिय उपाध्यक्ष छोटेलाल साह, डा. रामचन्द्र यादव, डा. कैलास प्रसाद फुर्तेल लगायतका व्यक्तिहरुले मधेसको कृषिको अवस्था र बिउ व्यवसायको चुनौती बारेमा धारणाहरु व्यक्त गरेका थिए ।