राष्ट्रपतिद्वारा छोरी शिक्षा बीमा मुद्दती खाताको शुभारम्भ छोरीलाई दासको रुपमा हेर्ने प्रवित्तिको अन्त्य गर्नु पर्दछ ः मुख्यमन्त्री राउत

17

संतोष रन्जितकार
वीरगंज, ९ फागुन ।
राष्टूपति विद्यादेवी भण्डारीले प्रदेश नं २ मा छोरी शिक्षा बीमा मुद्दती बचत खाताको बिहिबार शुभारम्भ गर्नुभएको छ । प्रदेश नं २ को सरकारले ल्याएको ‘बेटी बचाउ बेटी पढाउ’ अभियानअन्तर्गत सो कार्यक्रमको शुभारम्भ गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताउनुभयो । प्रदेश नं २ सरकारले सो अभियानका लागि आर्थिक वर्ष २०७५/७६ मा करीब रु ८९ करोड विनियोजन गरेको छ । सो अभियानअन्तर्गत प्रदेश २ सरकारले छोरी बीमा कार्यक्रमका लागि प्रभु बैंकसँग सम्झौतासमेत गरिसकेको छ । अभियानको पहिलो चरणमा साइकल वितरण, सामुदायिक विद्यालयमा छात्रामैत्री शौचालय निर्माण, सचेतनाका लागि अभियान चलाउने जस्ता कार्यक्रम रहेको बताइएको छ ।
अभियानअन्तर्गत प्रदेश २ को आठवटै जिल्लाका चार हजार छात्रालाई साइकल वितरण गर्ने लक्ष्य लिइएको छ । यसअन्तर्गत कतिपय जिल्लामा साइकल वितरण गर्ने कार्यक्रम शुभारम्भ भइसकेको छ । प्रदेश नं २ मा छोराछोरीबीच विभेद, छोरीलाई भ्रूणमै हत्या गर्ने, दाइजो प्रथा, छोरीलाई विद्यालय नपठाउने जस्ता कुरीति हटाउन अभियानले चेतना जगाउने विश्वास लिएको छ । राष्ट्रपति विद्यादेवि भण्डारीले माता जानकी र गार्गी जस्ता विदुषीको जन्मभूमिमा छोरी अपहेलित हुनु दुःखद भएको बताएकी छिन् ।


वीरगञ्जको त्रिजुद्ध माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा राष्टूपति भण्डारीले माता जानकीजस्ता विभूति जन्मेको यस देशमा राष्टू, राष्टिूयता र संस्कृतिप्रति गौरव गर्ने वातावरण तयार पारी छोरी शिक्षालाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । राष्टूपति भण्डारीले भन्नुभयो, “आजका छोरी भोलि देशको जिम्मेवार नागरिक भएकाले छोरीलाई शिक्षा दिनु आजको आवश्यकता हो, छोरीलाई शिक्षा दिँदा सुदृढ संस्कृतिको जगमा उभिन सक्ने गरी दिनुपर्छ ।”
प्रदेश नं २ को सरकारले ल्याएको सो अभियानले समृद्ध समाज निर्माण गर्न तथा महिलाको उच्च प्रतिष्ठालाई सम्मान गर्न कोसेढुङ्गा सावित हुने बताउँदै राष्टूपति भण्डारीले वर्तमान संविधानले पनि महिलाको अधिकार सुनिश्चित गरी महिलालाई अधिकार सुम्पेको बताउनुभयो । उहाँले महिलाले सामाजिक, आर्थिक र राजनीतिकलगायत क्षेत्रको विकासमा प्रभावकारी भूमिका खेल्ने गरेको बताउँदैै समाजमा व्याप्त दाइजोजस्ता कुरीति समाप्त पारी छोरी, बुहारी एवं महिलाप्रति सम्मान गर्नु आजको आवश्यकता रहेकामा उहाँले जोड दिनुभयो । उहाँले सिँचाइ, बीउबिजन, मलखादको आवश्यकतालाई प्राथमिकतामा राखेर विदेश पलायन हुने युवापुस्तालाई रोक्नुपर्नेमा जोड दिँदै विकासको पूर्वाधार अगाडि बढाउँदा र एकीकृत बस्ती विस्तार गर्दा वातावरण संरक्षणलाई ध्यानमा राखी चुरे विनाशलाई रोक्नुपर्ने सुझाव दिनुुभयो ।
सो अवसरमा राष्टूपति भण्डारीले प्रभु बंैक लिमिटेडमा खाता खोलिएका वीरगञ्ज महानगरपालिका–१ देखि १६ वडासम्मका १४ शिशुका अभिभावकलाई बैंकको खातासम्बन्धी कागजात हस्तान्तरण गर्नुभएको थियो । उहाँले प्रदेश नं २ का आठ जिल्लामा गत वर्ष एसइई परीक्षामा पहिलो, दोस्रो तथा तेस्रो हुने छात्रालाई नगद तथा सम्मानपत्र प्रदान गर्दै त्रिजुद्ध माविबाट २००९ सालमा बोर्ड फस्ट वरिष्ठ उद्योगपति बाबुलाल चाचानलाई सम्मान गर्नुभयो । छोरी जन्मेको ३५ दिनभित्र जन्मदर्ता गरी आवश्यक प्रक्रिया पुरा गरेपछि प्रदेश सरकारले बैंकमा निश्चित रकम जम्मा गरिदिनेछ । त्यो रकम २० वर्ष उमेर पूरा भएपछि झिक्न मिल्छ । त्यस बखत खातामा १ लाख २५ हजार हुने राष्ट्रपति भण्डारीले बताइन् ।
उनले प्रदेश सरकारले सुरु गरेको कार्यक्रम बाँकी प्रदेशका लागि पनि अनुकरणीय बनोस् र राष्ट्रिय कार्यक्रमको रुपमा आओस भन्ने कामना गरेकी छन् । यसले छोरीलाई सम्मान गर्ने र छोरीको महत्व बुझ्ने सोचको विकास हुने उनले बताइन ।


सो अवसरमा प्रदेश नं २ का प्रदेश प्रमुख रतनेश्वरलाल कायस्थले नेपालको संविधानले कल्पना गरेको समतामूलक समाजको स्थापना गर्न सो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारको गठनसँगै भौतिक पूर्वाधारको विकास तथा समाजमा रहेको महिला तथा छोरीको शिक्षाप्रति आकर्षण ल्याउन सो कार्यक्रम ल्याइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “महिला तथा छोरीको शिक्षाप्रति आकर्षण बढाई तिनलाई सशक्त बनाएर मुलुकको विकासमा अग्रसर गराउने लक्ष्य प्रदेश सरकारको रहेको छ”, उहाँले भन्नुभयो ।
कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले छोरीलाई दासको रुपमा हेर्ने प्रवृत्तिको अन्त्य गर्न प्रदेश सरकारले बेटी पढाऊ, बेटी बचाऊ अभियान ल्याएको र यसले छोरीलाई पढ्न उत्साहित बनाउने बताए ।
प्रदेश सरकारले ल्याएको प्रहरी ऐन, लोकसेवा र निजामती सेवा ऐनमा महिलालाई ५० प्रतिशत अनिवार्य आरक्षणको समेत व्यवस्था गरिएको उनले बताए । ‘सामुदायिक विद्यालयका छात्राहरुलाई साइकल वितरण, शौचालय निर्माण तथा उनीहरुलाई पढाउने मात्रै होइन, जागिरमा कसरी ल्याउने भन्ने तर्फ हामीले ध्यान दिएको बताए ।
कार्यक्रममा प्रदेश नं २ का सामाजिक विकासमन्त्री नवलकिशोर साह र सचिव दीपक सुवेदी, प्रभु बैंक लिमिटेडका सिइओ अशोक श्रेष्ठ, वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगी, सांसद प्रदीप यादव लगायतले आ–आफ्नो मन्तव्य राखेका थिए ।