शिक्षामा रहेको असमानता हटाउन आवश्यक ः नेता पौडेल सरकारले जनअपेक्षा अनुसार काम गर्नुपर्छ ः महामन्त्री कोइराला

31

दमौली, १० फागुन (रासस) ः
नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शिक्षामा रहेको असमानता हटाउन आवश्यक रहेकामा जोड दिनुभएको छ ।
तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीस्थित सिद्धेश्वरी माध्यमिक विद्यालयको स्वर्ण जयन्तीको आज उद्घाटन गर्दै उहाँले सामुदायिक र निजी विद्यालयको शिक्षाको स्तर फरक रहेकाले विभेद र असमानता हटाउनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, सामुदायिक विद्यालयमा शिक्षाको स्तर राम्रो नभएको देखिएको छ, सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न आवश्यक छ, तब मात्र शिक्षामा देखिएको असमानता अन्त्य हुनेछ । नेपालको संविधानमा सबै क्षेत्रमा विभेद र असमानता अन्त्य गर्ने प्रतिबद्धता जाहेर गरिएकाले शिक्षाको विभेद हटाउनु आजको मुख्य चुनौती रहेको वरिष्ठ नेता पौडेलले बताउनुभयो ।
उहाँले सामुदायिक विद्यालयको स्तर सुधार्न सबै प्रयत्नशील हुनुपर्नेमा जोड दिँदै व्यावसायिक र प्राविधिक शिक्षाको खाँचो रहेको बताउनुभयो । दश वर्षसम्म विद्यालयमा अध्ययन गरेपछि बालबालिकाले केही न केही सिकेर विद्यालयबाट निस्कने वातावरण तयार गर्नुपर्ने उहाँको भनाइ छ ।
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन आवश्यक रहेको बताउनुभयो । सो अवसरमा विद्यालयका जग्गादाता व्यास–१२ का बालकुमारी पन्त, भोजराज अधिकारी लगायतलाई वरिष्ठ नेता पौडेलले सम्मान गर्नुभएको थियो ।
साथै विद्यालयमा अध्ययनरत गरीब तथा जेहेन्दार २० विद्यार्थीलाई समेत जनही रु पाँच/पाँच सयको दरले छात्रवृत्ति प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । विसं २०२६ मा स्थापना भएको विद्यालयमा हाल २५७ छात्रछात्रा अध्ययनरत् छन् ।


नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले सरकारले जनअपेक्षा अनुसार काम गर्नुपर्ने बताउनुभएको छ । पार्टीका कोषाध्यक्षहरुको राष्ट्रिय समितिको आयोजनामा आजदेखि तनहुँको बन्दीपुरमा शुरु भएको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भ्रष्टाचार र अनियमितता बढ्दै गए पनि सरकारले त्यसलाई नियन्त्रण गर्न नसकेको टिप्पणी गर्दै सरकार असफलता तर्फ उन्मुख भएको दाबी गर्नुभयो ।
उहाँले पार्टी्भित्र आन्तरिक एकताको आवश्यकता रहेको उल्लेख गर्दै पार्टीलाई एकढिक्का बनाएर लैजानुपर्नेमा जोड दिनुभयो । प्रवक्ता विश्वप्रकाश शर्माले सरकार सुशासन र विश्वसनीयतामा चुकेको आरोप लगाउनुभयो । कार्यक्रममा केन्द्रीय सदस्य गोविन्द भट्टराई, प्रदीप पौडेल जिल्ला सभापति बैकुण्ठ न्यौपानेलगायतले पार्टीलाई एकढिक्का बनाएर लैजानुपर्नेमा जोड दिनुभयो ।
शनिबारसम्म चल्ने प्रशिक्षणमा समितिका पदाधिकारी एवं सदस्य, काङ्ग्रेस जिल्ला समितिका पदाधिकारी एवं सदस्य, जिल्लास्थित ८५ वडाका संयोजक, भातृसंस्थाका प्रमुख सहभागी छन् । प्रशिक्षणमा काङ्ग्रेस नेता शोभाकर पराजुली, देवराज चालिसेलगायतले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।