प्रसौनी बिर्तामा अनलाईन प्रणाली शुरु

4

संतोष रन्जितकार
वीरगंज, १३ फागुन ।
वीरगंज वडा नं. २३ प्रसौनी बिर्ता वडा कार्यालयमा सोमबार एक कार्यक्रमका बिच अनलाईन प्रणालीको उद्घाटन गरिएको छ । वीरगंजका प्रमुख कार्यकारी अधिकृत डा. भिष्मकुमार भुषालले अनलाईन दर्ता प्रणालीको उद्घाटन गर्नुभएको हो । अनलाईन दर्ता प्रणालीको उद्घाटन गर्दै डा.भुषालल पर्सा जिल्लामै पहिलो पल्ट अनलाईन सेवाको शुभारम्भ वडा नं. २३ बाट गरिएको जानकारी दिनुभयो । वहाँले यो आधुनिक प्रविधिबाट विभिन्न प्रकारको घटनाहरु सहजै रुपमा दर्ता गर्न सकिने बताउनु भयो । अनलाईन प्रणालीबाट सही तथ्यांक आउने तथा किर्ते कागज तयार गरी सेवा लिनेहरुबाट छुटकारा पाउने वहाँले बताउनु भयो । डा. भुषालले अनलाईन सेवाबाट जन्मदर्ता, विवाह दर्ता, मृत्युदर्ता, बसाई सराई र सम्बन्ध बिच्छेद लगायतका विभिन्न सेवाहरु दर्ता गर्न सकिने बताउनु भयो । दर्ता गरेको तथ्यांकहरु सुरक्षित र केन्द्रित हुनुको साथै तथ्यांक हराउने, जल्ने चोरिने समस्याबाट पनि बच्न सकिने तथा कुनै पनि दर्ताको प्रतिलिपि निकाल्दा झनझनबाट मुक्ति पाउनुको साथै सहरजमिन गर्ने समस्याबाट पनि छुटकारा पाउन सकिने जानकारी दिनुभयो । उद्घाटनको पहिलो दिन सोमबार २ जनाको जन्मदर्ता र २ जनाको विवाह दर्ता अनलाईन प्रणालीबाट गरिएको वडा सचिव सुर्यकला यादवले जानकारी दिनुभयो ।
अनलाइन शुरुवात गर्ने कार्यक्रममा वडा नं २३ का वडा अध्यक्ष अवधकिशोर कुशवाहाको सभापतित्वमा भएको कार्यक्रममा पुर्व सांसद विचारी यादव, वीरगंज महानगरपालिकाका सूचना तथा प्रविधि अधिकृत सतिश चौधरी, पञ्जिका प्रमुख प्राण मेहता, वडा सदस्य लालबाबु यादव, सहायक सचिव राजेन्द्र यादव, लालबाबु कुशवाहा लगायतको सहभागिता रहेको थियो ।