भारी परिमाणमा लागूऔषध चरेस बरामद

55

संतोष रन्जितकार
वीरगंज, १३ फागुन ।
पर्साको जगरनाथपुर गाउँपालिका वडा नं. ६ औराहामा रहेको खोलाको छेउबाट सशस्त्र प्रहरीले ठुलो परिमाणमा लागुऔषध तयारी चरेस तथा चरेसको धुलो बरामद गरेको छ । पोखरीयामा रहेको सशस्त्र प्रहरी बेस क्याम्प बाट सशस्त्र प्रहरी निरिक्षक महेन्द्र सिंह थापाको नेतृत्वमा खटिएको टोलीले औराहा खोलाको छेउछाउमा रहेको कलभर्टबाट सोमबार बिहान २८ किलो ७६० ग्राम तयारी चरेस र १५ किलो २८ ग्राम चरेसको धुलो बरामद गरेको हो । सोनवर्षाबाट तस्करहरुले भरियालाई चरेस बोकाएर भारत तर्फ लैजादै गरेको सूचनाको आधारमा सशस्त्र प्रहरीको टोलीले सोमबार बिहान औराहा खोलामा पुगेर चेकजाँच गर्दा छेउको कलभर्टमा लुकाएर राखेको अवस्थामा तयारी चरेस र चरेसको धुलोका पोकाहरु बरामद गरेको सशस्त्र प्रहरी निरिक्षक थापाले जानकारी दिनुभयो । सो लागुऔषध चरेस लुकाउने तस्कर र भरियाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । बरामद गरेको चरेसलाई इलाका प्रहरी कार्यालय पोखरीयामा बुझाएको पर्साका सशस्त्र प्रहरी नायब उपरिक्षक प्राक्रमराम भण्डारीले जानकारी दिए ।