भारतको समर्थन गर्दै राजपाद्वारा मोटरसाईकल र्‍याली प्रदर्शन

5

संतोष रन्जितकार
वीरगंज, १४ फागुन ।
भारत पाकिस्तान विवाद भइरहेकै बेला भारतको पक्षमा वीरगंजमा प्रदर्शन गरिएको छ । जम्मु काश्मिरमा भएको आतंकवादी हमलाको जवाफमा भारतीय वायु सेनाले पाकिस्तानी भूमीमा पसेर आक्रमण गरेकै दिन वीरगंज राष्ट्रिय जनता पार्टीका महासचिव राजेशमान सिंहको नेतृत्वमा राष्ट्रिय युवा संघ, राष्ट्रिय विद्यार्थी संघका कार्यकर्ताले मोटरसाईकल र्‍याली प्रदर्शन गरेका हुन् । आतंकवाद विरुद्ध नेपालका युवा भारतको साथमा रहेको भन्दै राजपाले प्रदर्शन गरेको हो । र्‍यालीमा सहभागिहरुले आतंकवाद र आतंकवादीलाई संरक्षण दिने राष्ट्र मुर्दावाद, आतंकवाद विरुद्ध भारत हामी तिम्रो साथमा छौ । नेपाल भारत मैत्री सम्बन्ध अमर रहोस् जस्ता नारा लेखिएका ब्यानर र प्लेकार्डसहित र्‍याली प्रदर्शन गरिएको थियो । वीरगंजको श्रीपुर स्थित जिल्ला प्रहरी कार्यालय पर्सा अगाडीको लालबंगला भवनबाट निकालेको सो मोटरसाईकल र्‍याली घण्टाघर हुंदै माईस्थान, आदर्शनगर, घडीअर्वा परिक्रममा गर्दै पुनः घण्टाघरमा आएर कोणसभामा परिणत भएको थियो । घण्टाघरमा विरोध सभालाई सम्बोधन गर्दै राजपाका महासचिव सिंहले आतंकवादीको कुनै जात, धर्म, सिमा नहुने भन्दै आतंकवाद र आतंकवादीलाई विश्वबाटै समाप्त पार्न आवश्यक रहेको बताए । सो कार्यक्रममा जिल्ला अध्यक्ष प्रेमबाबु पटेल, जिल्ला सचिव उमेशलाल सहनी, केन्द्रिय सदस्य मिनु ठाुकर, बरकतुल नेशा, परमानन्द चौधरी, डा. कमरुल अंसारी लगायतको सहभागिता रहेको थियो ।
त्यसैगरी समाजवादी विद्यार्थी फोरमका वरिष्ठ जिल्ला उपाध्यक्ष कृष्णा कुमार चौरसियाको नेतृत्वमा आतंकवादको विरुद्धमा भारतले पाकिस्तानमाथी गरेको आक्रमणको खुशीयालीमा घण्टाघरमा द्विप फ्रज्वलन कार्यक्रमको आयोजना गरिएको छ । सो कार्यत्रममा समाजवादी विद्यार्थी फोरमका प्रभात चौरसिया, अरुण मिश्रा, राजेन्द्र चौरसिया, दिलखुस देवान, दिलिप रौनियार, बिनय पटेल, अजय कानु, किशोर पटेल, अमलेश गुप्ता, राजन पटेल, करण पटेल लगायतको सहभागिता रहेको थियो ।