अश्वमेध महायज्ञको सम्पूर्ण तयारी पुरा ः मेयर सरावगी

8

वीरगंज, १५ फागुन ।
नेपालमा पहिलो पटक हुन गइरहेको गायत्री अश्वमेध महायज्ञको सम्पूर्ण तयारी पूरा भएको आयोजक समितिका संयोजक एवं वीरगंज महानगरपालिकाका नगरप्रमुख बिजय कुमार सरावगीले बताउनु भएको छ ।
अश्वमेध महायज्ञका मीडिया संयोजक महेश दासको अध्यक्षतामा बुधबार भएको पत्रकार सम्मेलनमा फागुन १९ गते देखि राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन हुने र २२ गते प्रधानमन्त्री के.पी शर्मा ओलीबाट समापन हुने कार्यक्रम तय भएको बताइयो । यज्ञको तयारी समितिका सह–संयोजक अशोक वैधले भि.भि.आइ.पी. स्वागत एवं खाना पिनाको सम्पूर्ण व्यवस्था मिलाई सकिएको जानकारी गराउनु भएको थियो ।
आवास संयोजक ओमप्रकाश सर्राफले यज्ञमा ५ देखि १० लाख मानिसहरु आउने सम्भावना भएको र पाँच हजार स्वयंसेवक महायज्ञ अवधिभर परिचालन हुने बताउनु भयो । सर्राफले अतिथिहरुको आवासको सम्पूर्ण व्यवस्था भइसकेको र एक सय पचास शौचालय तथा तिस वटा धाराको व्यवस्था समेत भएको बताए । गुजरात, महाराष्ट्र, बिहार, राजस्थान आदि ठाउँहरुबाट स्वयंसेवकहरु आउने क्रम बढेर गएको बताइएको छ ।