अश्वमेध गायत्री महायज्ञ भव्यतापूर्वक सम्पन्न, यो महायज्ञले अमन चैन र शान्ति ल्याउने छ ः मुख्यमन्त्री राउत

13

वीरगञ्ज, २२ फागुन ।
वीरगञ्जस्थित आर्दशनगर रङ्गशालामा सञ्चालित ॅअश्वमेध गायत्री महायज्ञ’ बुधबार विधिवत्रुपमा सम्पन्न भएको छ ।
महायज्ञको समापन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा शान्ति छाओस भन्ने कामना व्यक्त गर्नुभएको छ । अस्वस्थताको कारण वीरगन्जसमा चलिरहेको अश्वमेध गायत्री महायज्ञको समापन कार्यक्रममा पठाउनु भएको सन्देशमा नेपालमा पहिलो पटक भइरहेको यस महायज्ञबाट नेपालको समृद्धिसंग विश्वमै शान्ति छाओस भन्ने कामना व्यक्त गरिएको हो । यज्ञ समापन कार्यक्रममा उहा आउने अन्तिम तयारी भएपनि नियमित चेक जाँचको क्रममा उहालाई अस्पतालमा भर्ना गरिएपछि वहाँ वीरगन्ज आउन नसकेपनि सन्देश पठाउनु भएको थियो । प्रधानमन्त्री ओलीको अस्वस्थता खबर आएपछि महायज्ञमा प्रधानमन्त्रीको सिघ्र सुस्वास्थ्यको लागी सहभागी सबैले मन्त्रद्वारा आहुति दिएका थिए ।


चार दिने सो महायज्ञमा ६० हजार श्रद्धालु भक्तजनले हवन गरेका थिए । महायज्ञमा २५१ यज्ञशाला निर्माण गरी भव्यरुपमा गायत्री पूजा गरेका थिए । अखिल विश्व गायत्री परिवारको तत्वाधानमा शुरु भएको सो महायज्ञमा भारतको शान्तिकुञ्ज हरिद्वारबाट आएका पुरोहित तथा साधकले वैदिक मन्त्रका साथ हबन यज्ञादी गरेका थिए ।
महायज्ञमा दैनिकरुपमा हवनयज्ञ, गोष्ठी, रथपरिक्रमा, दीपयज्ञ लगायतका धार्मिक अनुष्ठान भएको थियो । अश्वमेध गायत्री महायज्ञले मधेशी पहाडी दलित गैरदलित महिला पुरुषबीचमा विभेद्लाई अन्त्य गरेपछि सो महायज्ञमा पूजाअर्चना गर्न दलित समुदायका मानिसको उल्लेखनीय सहभागिता थियो ।
नेपाललगायत भारतका विहार, उत्तरप्रदेश, उत्तराखण्ड, झारखण्ड, दिल्ली, हरियाणा, महाराष्टू, मध्यप्रदेश, राजस्थान, गुजरातलगायत विदेश गरी ४० मुलुकका करीब तीन लाख श्रद्धालु आएको आयोजक समितिको जिकिर छ ।
महायज्ञ समापन अवसरमा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विश्व भौतिकवादमा डुबेको बेला आध्यात्मिक ज्ञान प्राप्त हुने यो ठूलो महायज्ञले विश्वमा अमनचयन र शान्ति ल्याउने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले आजको विश्वमा एक देशले अर्को देशलाई, एक सम्प्रदायले अर्को सम्प्रदायलाई समाप्त पारी आफ्नो वर्चश्व कायम गर्न खोजेको यो परिवेशमा धर्म र संस्कृतिको माध्यमबाट अपनत्व खोज्नु उत्तम उपाय भएको बताउनुभयो ।
महायज्ञ मूल समारोह समितिका संयोजक डा उपेन्द्र महतोले सुख, शान्ति र समृद्धिका लागि महायज्ञ सफल भएको बताउनुभयो । महायज्ञ आयोजक समितिका संयोजक तथा वीरगञ्ज उपमहानगरपालिकाका प्रमुख विजयकुमार सरावगीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।