कृषि मन्त्रीद्वारा शित भण्डारको शिलान्यास, तोकिएको समयभित्र निर्माण पुरा हुन्छ ः मन्त्री साह

31

वीरगन्ज, २४ फागुन ।
प्रदेश नम्बर २ को सरकारको सहयोगमा वीरगंज महानगरपालिका भित्र पहिलो शीत भण्डार गृह (कोल्ड स्टोर) निर्माण हुन लागेको छ । सो शित भण्डारको शुक्रबार शिलान्यास गर्दै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले प्रदेश नं. २ को जनताको मुख्य आयश्रोत कृषि नै भएको भएतापनि संघीय सरकारले प्रदेश नं. २ को कृषि क्षेत्रलाई अगाडी बढाउन कुनै ठोस योजना र बजेट विनियोजन नगरेको आरोप लगाउनु भयो ।


प्रदेश नं. २ को सरकार कृषि क्षेत्रको विकासको लागि सक्दो काम गर्ने र यो शित भण्डार तोकिएको समयमै संचालनमा आउने दावी गर्नुभयो । सो कार्यक्रममा पर्सा क्षेत्र नं. १ का सांसद प्रदिप यादवले पर्सा जिल्लाले मुलुकको बजेटमा ठूलो धनराशी सहयोग पुर्‍याएको भए तापनि यस क्षेत्रको विकासको लागि संघीय सरकारले खासै रुची नदेखाएको आरोप लगाउनु भयो । यो शित भण्डार निर्माण भएपछि यहाँको किसानलाई उचित सहयोग प्राप्त हुने विश्वास सांसद यादवले व्यक्त गर्नुभयो ।
रु २१ करोडको लागतमा निर्माण हुन गइरहेको सो शित भण्डारमा सरकारको ८० प्रतिशत र शिवम एग्रोको २० प्रतिशत लगानी हुने बताइन्छ ।
शिवम एग्रो प्रा.लि.का अध्यक्ष शिवजी साहको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा सभासद प्रहलाद गिरी, सिंहासन साह, वीरगंज उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष शुबोध गुप्ता, नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का अध्यक्ष दीपेन्द्र चौहानले आ–आफ्नो मन्तव्य व्यक्त गर्नु भएको थियो ।