वीरगन्ज, २५ फागुन ।
उद्योगपति सुरेश केडिया अपहरण काण्डमा संलग्न भारतीय नागरिक बब्लु पासवान र उनका सहयोगी बिजय महतोलाई पर्सा प्रहरीले गिरफ्तार गरेको छ ।
उद्योगी केडियाको अपहरणमा संलग्न रहेको भन्दै प्रहरीले गत बिहीवार भारतसँग सीमा जोडिएको पर्साको भिस्वा नाकाबाट भारत बिहारको रक्सौल नगर परिषद् वडा नम्बर १७ का ३५ वर्षीय बब्लु पासवान र राजहर्नाही ग्राम पन्चायत वडा नम्बर ३ का २५ वर्षीय नन्की भन्ने विजय महतोलाई पक्राउ गरेको हो ।
पक्राउ परेका दुवैलाई सार्वजनिक गर्न शनिवार जिल्ला प्रहरी कार्यालय पर्सामा आयोजित पत्रकार सम्मेलनमा अपहरण काण्डमा संलग्न बब्लु पासवानले बब्लु दुवेको योजनामा यो अपहरण भएको र आफुले भारतको सरहदबाट उनको जिम्मा लिएको बताएका थिए । उनले हिसाब–किताबमा गडबड भएको कारणले गर्दा बब्लु दुवेको हत्या आफुले नै गरेको पत्रकार सम्मेलनमा बताएका थिए । अपहरण हुनुभन्दा पाँच दिन अगाडी बब्लु दुवेले केडियाको अपहरण गरेर भारतीय सिमामा ल्याएपछि तिमीहरुको जिम्मा भनी अर्हाएका थिए । सो क्रममा दुवेले १८ लाख भारु (तिस लाख नेपाली) बाराका स्थानीय प्रहरीलाई दिएको खर्च देखाएतापनि आफुलाई सो सन्दर्भमा पुर्ण जानकारी नभएको बताए ।
दुबेकै योजना र निर्देशन अनुसार पासवान तथा उनीसँगै बिहीबार पक्राउ परेका विजय गरी ६ जनाको समूहले केडियालाई २०७३ साल जेठ १३ गते बाराको बघवनबाट अपहरण गरी गाडीमा राखेर भारतीय सीमा कटाएका थिए।
अपहरण गर्ने क्रममा अपहरणकारीको समूहले केडियाका गाडी चालक श्याम साहलाई गोली हानेर घाइते बनाएका थिए।
अपहरण भएको चार दिनपछि नै केडिया अपहरणमुक्त भएका थिए। नेपाल प्रहरीले भारतीय प्रहरीको सहयोगमा केडियालाई अपहरणमुक्त गराएको दाबी गर्दै आएको छ ।
यसअघि केडिया अपहरणकाण्डमा संलग्न भएको भन्दै बारा प्रहरीले बाराको महागढिमाइका वीरेन्द्र यादव, कबहिजब्दीका जियालाल यादव, वीरेन्द्र यादव, जियालाल यादव र चन्चल पाण्डे गरी पाँच जनालाई २०७३ साल जेठमै पक्राउ गरेको थियो। उनीहरू पाँचै जना पुर्पक्षका लागि वीरगन्ज कारागारमा रहेका छन्।
पत्रकार सम्मेलनमा पर्सा प्रहरी उपरीक्षक रेवती ढकालले विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीको टोलीले पासवान र महत्तोलाइ पक्राउ गरेको जानकारी दिए।
केडिया अपहरण सम्बन्धि मुद्दा जिल्ला अदालत बारामा दर्ता भएकोले पक्राउ परेका दुबै जनालाई आइतवार जिल्ला प्रहरी कार्यालय बारामा पठाइने जानकारी पनि उनले पत्रकार सम्मेलनमा दिए । त्यसबखत जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक रहेका नरेन्द्र उप्रेतीले तत्कालिन मध्य क्षेत्रका डिआइजीका घुमुवा रहेका सई बिजय यादवलाई थुनामा राखेर कारवाही अगाडी बढाएका थिए । अहिले बिजय यादव नेपाल प्रहरीका महानिरिक्षक सर्वेन्द्र खनालका विश्वासपात्र हुन । सई यादवकै कारण नरेन्द्र उप्रेतीको एसएसपीमा बढुवा नभएपछि उनी राजीनामा दिएको बताइन्छ ।