भ्रष्टाचार नियन्त्रण गर्न सञ्चारकर्मीको सहयोग आवश्यक

15

काठमाडौँ, २६ फागुन (रासस) ः
भ्रष्टाचार नियन्त्रणका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सञ्चारकर्मी एक अर्काका सहयोगी भएर काम गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । आयोगले आजदेखि शुरु गरेको तीनदिने खोज पक्रकारिता तालीमको शुरुआत गर्दै आयोगका आयुत्त डा गणेशराज जोशीले भ्रष्टाचार र अनियमितताको नियन्त्रणका लागि आयोग र सञ्चारकर्मी एक अर्काका परिपूरक हुनुपर्ने बताउनुभयो ।
उहाँले भ्रष्टाचार राष्ट्रिय चिन्ताको विषय भएकाले अनुसन्धानको दायरा फराकिलो बनाउन र सही एवम् तथ्यपूर्ण सूचना प्रवाहका लागि सञ्चारकर्मीसमेत उत्तिकै जिम्मेवार बन्नुपर्ने आयुक्त डा जोशीको भनाइ थियो । सरकारले आर्थिक समृद्धिको विषयलाई आफ्नो प्रमुख कार्यसूचीमा राखेको सन्दर्भमा त्यसलाई प्राप्त गर्नसमेत सरकारी निकायहरु इमान्दार हुनुपर्ने र भ्रष्टाचारको अन्त्य हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
आयोगका प्रवक्ता रामेश्वर द·ालले आयोगका हरेक गतिविधिलाई सञ्चारमाध्यमले उचित प्राथमिकतामा राखेको भन्दै आगामी दिन थप नयाँ आयामको खोजी गर्दै थप सहजीकरण गरिने बताउनुभयो । नियमितभन्दा पनि विषयवस्तुको गहिराइलाई बुझेर सार्थक सूचना सम्प्रेषण होओस् भन्नेमा आयोग सधैँ प्रतिबद्ध रहेको भन्दै भ्रष्टाचार नियन्त्रण गर्न सरोकार भएका सबैको उत्तिकै प्रयत्न आवश्यक रहेको बताउनुभयो ।
आयोगले भ्रष्टाचारको विषयमा के कसरी सञ्चार सामग्री उत्पादन गर्ने र भ्रष्टाचार र बेथितिका विषयलाई के कसरी प्रकाशनमा ल्याउने भन्नेबारेमा विषय विज्ञबाट जानकारी गराउने उद्देश्यका साथ तालीम शुरु गरेको र यसलाई नियमित रुपमा सञ्चालन गर्ने जानकारी दिएको छ ।