नारायणी अस्पताललाई देशकै नमूना अस्पताल बनाउँछु ः सांसद यादव

15

वीरगंज, २९ फागुन ।
संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष एवं क्षेत्र नं. १ का सांसद प्रदिप यादवले नारायणी उप–क्षेत्रिय अस्पतालबाट स्तरोन्नती भएको नारायणी अस्पताललाई देशकै नमुना अस्पताल बनाउने बताउनु भएको छ ।
टर्सरी अस्पतालमा रुपान्तरणको प्रक्रियामा अघि बढेको नारायणी अस्पतालको बोर्ड फेरिएको छ । नारायणी उपक्षेत्रीय अस्पतालको बोर्ड मात्रै रहेको अस्पतालमा बुधबार बिहान नारायणी अस्पताल लेखिएको बोर्ड लगाइएको हो ।
सो साइनबोर्ड अनावरण गर्दै सांसद यादवले मैले आफ्नै कार्यकालमा यस अस्पताललाई देशकै नमुना अस्पताल बनाउने लक्ष्य लिएर काम गरिरहेको बताए ।
यसमा सबैको सहयोग आवश्यक पर्ने उनले भने, सबैको सहयोग भयो भने ३ वर्ष भित्र यस अस्पतालको मुहार फेर्ने छु सांसद यादवले दावी गरे ।
काठमाण्डौंको वीर अस्पतालसंगै ६० वर्ष अगाडी स्थापना भएको नारायणी अस्पतालको विकासमा कसैले चासो दिएका थिएनन् ।
नारायणी उपक्षेत्रिय अस्पताललाई स्तरोन्नती गरी पाँच सय शय्याको बनाइएको छ । यसअघि सरकारको २ सय र अस्पताल विकास समितिको एक सय शय्या मात्र संचालनमा थियो । स्वास्थ्य मन्त्रालयले उपक्षेत्रीय अस्पतालको रुपमा रहेको नारायणी अस्पताललाई विशेषज्ञ सेवासहित ५०० बेडको प्रदेश २ कै नमूना अस्पतालको रुपमा स्तरोन्नती गरेको दावी गरेको छ ।
सांसद यादवकै पहल र आग्रहमा प्रधानमन्त्री केपी शर्मा ओली र स्वाथ्यमन्त्री उपेन्द्र यादवले स्तरोन्नति गर्ने निर्णय गर्नुभएको हो ।
३ सयबाट ५ सय शय्यामा स्तरोन्नती भएको नारायणी अस्पताललाई मेडिकल कलेज बनाउनका लागि पनी तयारी शुरु भएको छ । त्यसका लागि ३ दिनदेखि इन्जिनियरहरुले माटो परिक्षणको काम गरिरहेका छन् ।
सांसद यादवले भने, नारायणी अस्पताललाई मेडिकल कलेज बनाउनका लागि अर्थ मन्त्रालयबाट ७० करोड रुपैया निकासा भएर शहरी विकास मन्त्रालयमा गइसकेकोले अब केही दिनमै टेण्डर खुल्ने जानकारी दिए ।
यादवले मेडिकल कलेज बनाउनका लागि जग्गा प्राप्तिको प्रक्रिया तत्काल टुंयाइदिन पनि पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईलाई आग्रह गरे । कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति नेक महम्म्द अंसारी, नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का दीपेन्द्र चौहान, नारायणी अस्पतालका मेसु डा. एनामुलहक अंसारी, राजपाका महासचिव नेजामुद्दिन समानी, पर्साका अध्यक्ष श्याम बञ्जारा लगायत संचारकर्मी तथा स्थानीयहरुको उल्लेखनीय उपस्थिती रहेको थियो ।