कांग्रेस र कम्युनिष्ट परित्याग गरी राजपामा प्रवेश गरेको दावी

0

वीरगंज, ३० फागुन ।
ठोरी गाउँपालिका–५ सुवर्णपुरमा राष्ट्रिय जनता पार्टी (राजपा)ले आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेससहित विभिन्न पार्टी परित्याग गरी करीब ३०० जना राजपामा प्रवेश गरेका छन् ।
राजपाका सह–अध्यक्ष तथा पर्सा निर्वाचन क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य लक्ष्मणलाल कर्णले फूलमाला र टिका लगाई नवप्रवेशीहरुलाई स्वागत गरेका थिए । नवप्रवेशीहरुमा साविक सुवर्णपुरका पूर्व गाविस अध्यक्ष जरी लामा सहित नेपाली काँग्रेस तथा नेकपाका नेता कार्यकर्ताहरु पार्टी परित्याग गरी राजपामा प्रवेश गरेका हुन् । नेकपाबाट राजपामा प्रवेश गर्नेहरुमा पुर्व नेकपा माओबादीका केन्द्रिय सदस्य शिरोमणी सापकोटा, सुन लामा, विमल प्रधान, चन्द्र बहादुर नेवार, डुक्पा लामा, बाबुराम बुढाथोकी, कमला पौडेल, मगनी शाह रहेका थिए भने नेपाली काँग्रेसबाट राजपामा प्रवेश गर्नेहरुमा सुवर्णपुर गाविसका पूर्व गाविस अध्यक्ष जरी लामा, भीम बहादुर पाख्रिन, हरी चौलागाई, विष्णु बुढाथोकी, रमेश थिङ लामा, सुनिल लामा लगायत करीब डेढ सय नेता कार्यकर्ताहरु राजपामा प्रवेश गरेका छन् ।
पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाबाट राजपामा प्रवेश गरेका नवप्रवेशी शिरोमणी सपकोटाले नेकपाको सरकार भ्रष्टचारमा लिप्त भएकोले आफू राजपामा प्रवेश गरेको बताए । राजपा पर्साका अध्यक्ष जगदिश पटेलको अध्यक्षतामा भएको कार्यक्रममा राजपाका महासचिव शिव पटेल, सांसद रमेश पटेल, क्षेत्र नं ४ का क्षेत्रीय अध्यक्ष जटाशङ्ढर गिरी र राजपाका नेता कार्यकर्ताहरु लगायत स्थानीय भद्रभलादमीहरुको उपस्थिती रहेको थियो ।