वीरगन्ज, २ चैत्र ।
प्रदेश नं. २ मा पहिलो पटक कला महोत्सव २०७५ को आयोजना भएको छ । ललितकला प्रज्ञा प्रतिष्ठान काठमाडौंले वीरगंजलाई प्राथमिकता दिई यो कार्यक्रमको आयोजना गरेको हो । पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का अध्यक्ष दीपेन्द्र चौहान लगायतहरुको उपस्थिती रहेको थियो ।
वीरगन्जको माईस्थान स्थित गहवामाई मन्दिर अगाडिको पार्कमा आयोजित सो कार्यक्रममा उल्लेखनीय रुपमा कला पारखीहरुको उपस्थिती रहेको थियो ।
माईस्थान पार्क र घडीअर्वा पोखरी परिसरमा आयोजना गरिएको कार्यशालामा, ललितकला प्रज्ञा प्रतिष्ठान काठमाडौंबाट आएका २० जना र स्थानीय चित्रकारले मधेसको कलासंस्कृति, रीतिरिवाज झल्किने तथा वीरगन्ज र यस आसपासका धार्मिक एंव पर्यटकीय स्थलको चित्र बनाएका थिए ।
महोत्सवमा आइतबारदेखि सामुहिक चित्रकला प्रदर्शनी सुरु हुनेछ । सामुहिक चित्रकला प्रदर्शनी वीरगन्जको राणीसति मन्दिरको सभाकक्षमा चैत ४ गतेसम्म चल्ने छ ।
ललितकला प्रज्ञा प्रतष्ठिान, काठमाडौंमा मात्रै केन्द्रित र सीमित रहेको गुनासो आएपछि मोफसलका चित्रकार र कलाकारहलाई जोड्न र उनीहरुलाई प्रोत्साहित गर्नका लागि नै वीरगन्जमा कला महोत्सवको आयोजना गरिएको नेपाल ललितकला प्रज्ञा प्रतष्ठिानकी प्राज्ञ तथा चित्रकला विभाग प्रमुख सुष्माराज भण्डारीले बताइन् ।
वीरगन्जमा आयोजना गरिएको कला महोत्सवले स्थानीय चिक्रकार र कलाकारहरुको मनोबल बढाएको तथा यो कार्यत्रमले हामीमा अझ उर्जा थपिदिएको र आफ्नो कला देखाउने अवसर पनि पाएको स्थानीय चित्रकार अजमत अलीले बताए ।
ललितकला प्रज्ञा प्रतष्ठिानकी अध्यक्ष सुष्माराज भण्डारीकै अध्यक्षतामा शनिबार भएको उद्घाटन कार्यक्रममा वीरगन्जका वरिष्ठ चित्रकार स्वर्गीय भरतप्रसाद सर्राफका छोरा कमलेश सर्राफ, वरिष्ठ चित्रकारद्वय श्याम श्रेष्ठ र नारायण लामालाई दोसल्ला ओढाएर सम्मनित समेत गरिएको थियो ।