पर्सामा ठेकेदारको लापरबाही, ताल्लुकदार अड्डा मौन

37

वीरगंज, ३ चैत्र ।
पर्सामा सञ्चालित अधिकांश विकास आयोजनामा स्थानीय प्रशासन र ठेकेदारको मिलीभगतमा लापरबाही देखिएको छ । समयमा पाएको ठेक्का सम्पन्न नगर्ने, पेटी ठेक्का दिने, विभिन्न बहाना बनाएर काम नगर्ने, क्षमता भन्दा बढीको जिम्मेवारी लिनेलगायतका समस्या निर्माण व्यवसायीहरुले देखाएको र यो सम्पूर्ण कार्यमा स्थानीय प्रशासनले पनि ठेकेदारको पक्षमा काम गर्ने गरेको कारण विकास निर्माणको कार्य पछि परेको हो ।
जिल्ला प्रशासन कार्यालय पर्साको आयोजनामा भएको कार्यक्रममा व्यापारिक मार्ग विस्तार आयोजना, हुलाकी सडक अयोजना, सडक डिभिजन कार्यालय हेटौंडा, पूर्वाधार विकास कार्यालय, सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय अर्न्तगत सञ्चालित विभिन्न पूर्वाधार विकासका काम, वीरगञ्ज महानगरपालिकामा एडीबीको ऋण सहयोगमा सञ्चालित परियोजनाको प्रगतिलगायतका विषयमा सम्बन्धित अधिकारीहरुले कार्यपत्र प्रस्तुत गरेको भएतापनि यो काम पनि हात्तिको देखाउने दाँत भएको सम्बन्धित श्रोतले जनाएको छ । अहिले जिल्ला प्रशासन कार्यालय पर्साको नेतृत्वले गफ ठूलो गर्ने र मोलतोल गरेर दुनो सोझ्याउने गरेको बुझिएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयका प्रमुख राजेन्द्र खतिवडाले राजनीतिक दवावका कारण बर्षौदेखि काम नगर्ने कम्पनीलाई कारबाही गर्न नसकिएको बताएर उम्किने प्रयास गरेका छन् ।


पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईको आयोजनामा भएको सो कार्यक्रममा प्रशासनले अब कारबाहीकै प्रक्रिया अपनाउने जानकारी दिएको भएतापनि सबैले यसलाई गफको रुपमा बुझेको र विकासे कार्यक्रममा स्थानीय प्रशासनले भागबण्डा खाजेको रुपमा बुझेका छन् । २०६८ सालमा सम्पन्न गर्नुपर्ने अयोजना अहिलेसम्म सम्पन्न नभएको र स्थानीय प्रशासनले हालसम्म माखो समेत मार्न नसकेको यहाँका सबै ठेकेदारले बुझेको भन्दै यो पनि माल कमाउने स्थानीय प्रशासनको दाउँ भएको रुपमा बुझ्नेले बुझेका छन् ।


सांसद प्रदिप यादवले विकास निर्माणमा देखिएको ढिलासुस्तीमा कुनै एक पक्ष मात्रै दोषी नरहेको बताए । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले लामो समय जनप्रतिनिधिविहीनताको अवस्था रहेका कारण विकासका कामले गति लिन नसकेको बताए ।
पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेशसभा सदस्य प्रहृलाद गिरी, शङ्ढर चौधरी, गाउँपालिका अध्यक्षहरु जालीम मिया, पिएल श्रेष्ठ, प्रदीप जैसवाल, पोखरिया नगरपालिकाका मेयर दीपनारायण रौनियार, नेपाली कांग्रेसका नेता सुरेन्द्र चौधरी, पूर्वसांसद जयप्रकाश थारु, रामचन्द्र साह लगायतले आ–आफ्नो मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रमको सहजिकरण पर्साका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले गर्नु भएको थियो ।

https://ankushdaily.com/