सांसद यादवद्वारा विवाह भवनको शिलान्यास

4

संतोष रन्जितकार
वीरगन्ज, ३ चैत ।
संघीय समाजवादी फोरम नेपालका पर्सा जिल्ला अध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य प्रदीप यादवले विवाह भवन तथा नगवा प्रवेशद्वारको रुपमा निर्माण गर्न लागिएको शहीदगेटको शिलान्यास सम्पन्न भएको छ ।
सांसद पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत आइतबार वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवामा निर्माण हुन लागेको विवाह भवन तथा नगवा प्रवेशद्वारको रुपमा निर्माण गर्न लागिएको शहीदगेटको सांसद यादवले शिलान्यास गरेका हुन ।
वीरगंजको नगवा चौकमा प्रवेशद्वारको रुपमा शहीद गेट निर्माण गर्दा एउटा ऐतिहासिक मधेश आन्दोलनको यादगारको रुपमा रहने बताउँदै सांसद यादवले मधेश आन्दोलनमा शहीद भएकाहरुप्रति पनि सच्चा श्रद्धान्जली अर्पण हुने विश्वास व्यक्त गरे ।
सांसद यादवले आफूले जनतासँग गरिएको वाचाअनुसार नै अहिले आफ्नो निर्वाचन क्षेत्रको हरेक गाउँमा आधुनिक विवाह भवनको निर्माण कार्यलाई निरन्तरता दिइरहेकोमा खुशी समेत व्यक्त गरे । पर्सालाई विकासको माध्यमले एउटा नमुना जिल्लाको रुपमा विकास गर्ने समेत लक्ष्य लिएर काम गरि रहेको बताए ।
सांसद यादवको संसदीय विकास पूर्वाधार कोषबाट २० लाखको लागतमा निर्माण हुन लागेको विवाह भवन शिलान्यास कार्यक्रममा प्रदेश सांसद प्रहलाद गिरी, वडा अध्यक्ष राधेश्याम चौरसिया लगायत फेरम नेपालका नेता, कार्यकर्ता तथा स्थानीयहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।