सरकार विध्वंसात्मक गतिविधि नियन्त्रण गर्दै विकास तर्फ अगाडी बढिरहेको प्रधानमन्त्रीको दावी

15

काठमाडौँ, १० चैत (रासस) ः
प्रधानमन्त्री केपी शर्मा ओलीले अराजक गतिविधि एवम् विध्वंसात्मक गतिविधि नियन्त्रण गर्दै विकास निर्माणका अभियानलाई तीब्रगतिमा अगाडि बढाउन सरकार क्रियाशील रहेको बताउभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँले सरकारसँगका असहमति वार्ता र संवादबाट समाधान गर्न सरकार तत्पर रहेको बताउनुभयो । उहाँले मुलुक जनताका अधिकार सुनिश्चित गर्ने गहन अभिभारा पूरा गर्न सरकार अविचलित भएर अगाडि बढेको बताउनुभयो ।
चुनौतीको आधार तय गर्न र कानून निर्माणका दृष्टिले यो वर्ष ठूलो उपलब्धिको वर्षका रुपमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले संविधानअनुसार निर्वाचनपछि तीनै तहका सरकारको गठन भई संस्थागत भएको बताउनुभयो । उहाँले भन्नुभयो, विगतका राजनीतिक उपलब्धि जोगाउन सक्ने भएका छौं, विगतका तिता अनुभव जस्तो हुन दिँदैनौं, गत वर्षको फागुन २१ गतेबाट शुरु भएको संसद् अधिवेशनमा सफलताको वर्ष मनाएका छौँ । संविधान कार्यान्वयन, संरचना निर्माण, संरचनाको व्यवस्थापन सुसञ्चालन सहज नभएपनि सहज रुपमा पार गरेको बताउँदै उहाँले संविधानको भावी कार्यान्वयनका लागि नजिर निर्माण, कानून निर्माण मौलिक हकलगायत थिति प्रारम्भ गरेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले संसद्मा मतभेद बिना धेरै कानून निर्माण हुनु आसाधारण विषय भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, भ्रष्टाचार नियन्त्रणका लागि कानूनी कारवाही गर्न जस्तोसुकै परोस् ढाकछोप हुँदैन । यसमा सरकार सहदैन र कारवाही हन्छ । अन्तर्र्ष्ट्रािय मामिलाका सम्बन्धमा सरकार स्पष्ट रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र अभिवाज्यताको रक्षा र संमर्द्धन सरकारको आधारभूत नीति र दृष्टिकोण हो भन्नुभयो ।
छाटो अवधिमा नेपालले महिला सहभागिताका सम्बन्धमा उल्लेख्य उपलब्धी हासिल गरेको बताउदै उहाँले विकसित र ठूला राष्ट्रभन्दा नेपाल अघि रहेको धारणा व्यक्त गर्नुभयो । शैक्षिक क्षेत्रमा उल्लेख्य उपलब्धि प्राप्त भएको बताउँदै प्रधानमन्त्री ओलीले दुई वर्ष भित्र निरक्षरता उन्मुलनका लागि धेरै काम गरिरहेका जानकारी गराउनुभयो । सरकार गठन भएपछि समयमै विद्यालयमा पाठ्यपुस्तक पुर्‍याएको उहाँको भनाइ थियो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, खाद्यान्नको अभाव हुन दिइएको छैन, महिलाको प्रजनन अधिकारका लागि हवाई सेवा दिएर पनि मातृशिशुको ज्यान बचाएका छौँ । करीब ८०० किमी सडक बाटो कालोपत्रे भएको छ । यो विकास निर्माणको आधार वर्ष हो ।
यो वर्ष धान उत्पादनमा नौ प्रतिशत वृद्धि भएको उल्लेख गर्दै उहाँले विकास निर्माणका काम तीब्रगतिमा अघि बढेको तथा वन विनाश पनि रोकिएको बताउनुभयो । वन क्षेत्र ४५ प्रतिशत पुगेको र अब वनलाई कृषिमा जोड्न नीतिगत रुपमा सरकार अघि बढेको बताउँदै प्रधानमन्त्री ओलीले पुनःनिमार्णमा पनि उल्लेख्य प्रगति हासिल गरेको जानकारी गराउनुभयो ।