गाउँपालिका अध्यक्षले भ्रष्टाचार गरेको उपाध्यक्षको आरोप

51

संतोष रन्जितकार
वीरगन्ज, १३ चैत्र ।
पर्साको पटेर्वा सुगौली गाउँपालिकामा रहेको भलुवही खोलामा गिट्टी बालुवा उत्खननका लागि लगाइएको ठेक्काको विषयलाई लिएर गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच विवाद चुलिएको छ ।
गाउँपालिकाका अध्यक्ष हरिनारायण चौधरीले ठेकेदारसँग रकम लेनदेन गरी प्रक्रिया मिचेर भलुवही खोलाको ठेक्का लगाएको उपाध्यक्ष ममता महतो थारुको आरोप रहेको छ ।
बुधबार वीरगन्जमा पत्रकार सम्मेलन गरी गाउँपालिकाकी उपाध्यक्ष महतोसहितका बहुसंख्यक कार्यपालिका सदस्यले विधि प्रक्रिया मिचेर गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले खोलाको ठेक्का लगाएको आरोप लगाएका छन् ।


गाउँपालिकाकी उपाध्यक्ष महतो सहित सातजना कार्यपालिका सदस्यले बोर्ड बैठकबाट निर्णय नै नगराइ गाउँपालिका अध्यक्ष चौधरी र प्रमुख प्रशासकीय अधिकृत सरोज चौधरीले ७० लाख रुपैयाँको लेनदेन गरी नियम प्रक्रिया मिचेर खोलाको ठेक्का लगाएको आरोप उनीहरुको रहेको छ । पटेर्वा सुगौली गाउँपालिकाले चालु आर्थिक वर्षको साउन महिनामा भलुवही खोलाको ठेक्का दुई करोड ७२ लाख ५१ हजार ९ सय ९९ सय रुपैयाँमा लगाएको थियो ।


उक्त ठेक्का निमिया माई निर्माण कम्पनीले लिएको थियो । निमिया माई निर्माण कम्पनी अशोक साहको नाममा दर्ता रहेपनि त्यसमा लगानी भने गाउँपालिकाकी उपाध्यक्ष नागेन्द्र महत्तो थारुको रहेको छ ।
तर साउनमा पटेर्वा सुगौली गाउँपालिकाले ठेक्का लगाए लगत्तै छिमेकको जीराभवानी गाउँपालिकाले भलुवही खोला आफ्नो क्षेत्रमा पनि पर्ने भन्दै पटेर्वासुगौली गाउँपालिकाले लगाएको ठेक्का खारेजीको मांग गर्दै उच्च अदालत अस्थायी इजलाश वीरगन्जमा मुद्दा हालेको थियो । अदालतमा मुद्दा परेपछि गत माघ तेश्रो साता प्रमुख जिल्ला अधिकारीको उपस्थितीमा बसेको सरोकारवालाको बैठकमा भलुवही खोलाको नयाँ ठेक्का १ करोड ८५ लाख रुपैयाँमा लगाउने र उक्त रकम दुवै गाउँपालिकाले आधा–आधा लिने सहमति भएको थियो । सहमति पछि जीराभवानी गाउँपालिकाले अदालतबाट मुद्दा फिर्ता लिएको थियो । त्यसपछि अध्यक्ष चौधरी र प्रमुख प्रशासकीय अधिकृतले रकमको लेनदेन गरी १ करोड ९ लाख रुपैयाँमा मात्र नवगावा माई निर्माण कम्पनीलाइ ठेक्का लगाएको उपाध्यक्ष महत्तोले बताइन् ।
बोर्ड बैठकको निर्णय अनुसार लगाइएको ठेक्का खारेज गर्नुपर्ने आफूहरुको मांग रहेको उपाध्यक्ष महत्तोले पत्रकार सम्मेलनमा बताइन् । पटेर्वासुगौली गाउँपालिकाको कार्यपालिका सदस्य कुल १३ जना रहेका छन् । ती मध्ये बुधबारको पत्रकार सम्मेलनमा उपाध्यक्ष महत्तोसँगै कार्यपालिका सदस्य माधवप्रसाद राउत थारु, मानमती देवी थरुनी, प्रेमशीला देवी चमइन, कलही देवी मुसहरीन, नयना देवी थरुनी र बिपिन मुखीया बिन गरी सातजनाको सहभागीता रहेको थियो ।
गाउँपालिकाका अध्यक्ष हरिनारायण चौधरीले भने विधि र प्रक्रिया पूरा गरेर नै १ करोड ९ लाख रुपैयाँमा नयाँ ठेक्का लगाइएको दाबी गरेका छन् । जीराभवानी गाउँपालिकाले अदालतमा मुद्दा हालेपछि प्रमुख जिल्ला अधिकारीको उपस्थिति बसेको बैठकमा ठेक्काको रकम दुवै गाउँपालिकाले आधा–आधा लिने सहमति भएको भन्दै अध्यक्ष चौधरीले बताए । उक्त बैठकमा १ करोड ८५ लाखमा पहिलेकै ठेकेदार (निमियामाइ निर्माण कम्पनी) लाइ ठेक्का दिने सहमति भयो, तर उसले अझै रकम घटाउने भन्दै आलटाल गर्‍यो ।
निमियामाई निर्माण कम्पनीले ठेक्का सकार गर्न आलटाल गरेपछि कार्यपालिकाको बैठकबाटै निर्णय गरेर १ करोड ९ लाख रुपैयाँमा चार महिनाका लागि नवगावा निर्माण कम्पनीलाई नयाँ ठेक्का लगाइएको अध्यक्ष चौधरीले बताए ।
उनले कार्यपालिकाको बैठकबाट पुरानो ठेक्का रद्ध गरिएको निर्णय गरी नयाँ ठेक्का लगाइएको बताए । नयाँ ठेक्का लगाउने निर्णय कार्यपालिकाको बहुमतले अनुमोदन पनि गरेको दाबी उनले गरे । आफन्त पर्ने ठेकेदारले ठेक्का नपाएको झोकमा उपाध्यक्ष महत्तोले झुठो आरोप लगाएको अध्यक्ष चौधरीले बताए ।

https://ankushdaily.com/