एसईईको परीक्षा स्थगित गर्न केन्द्र सरकारको दुई नं. प्रदेशलाई निर्देशन

23

काठमाडौँ, १५ चैत्र ।
लगातार प्रश्नपत्र बाहिरिएपछि शिक्षा मन्त्रालयले प्रदेश २ मा शनिबार देखिका सबै विषयको परीक्षा स्थगित गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शुक्रबार साँझ पत्रकार सम्मेलन गरी परीक्षा स्थगित गर्न निर्देशन दिएका हुन् । देशभरका परीक्षा केन्द्रमा शनिबार स्वास्थ्य तथा जनसंख्या विषयको परीक्षा हुने कार्यतालिका थियो । अन्य ६ प्रदेशमा भने परीक्षा यथावत् हुनेछ ।
प्रदेश २ मा यसअघि चैत १४ को विज्ञान विषयको परीक्षा रद्द गरी चैत २२ गतेलाई तोकिसकिएको छ । स्थगित अन्य विषयका परीक्षा पनि यसै महिना हुने गरी बोर्डले तालिका सार्वजनिक गर्ने पोखरेलले जनाए । १४ गतेभन्दा अघि सञ्चालित अंग्रेजी, नेपाली र गणित विषयका परीक्षा भने रद्द गरिएका छैनन् ।
मन्त्री पोखरेलले परीक्षा स्थगित हुँदा विद्यार्थी(अभिभावकलाई परेको मर्काप्रति मन्त्रालयको ध्यानाकर्षण भएको जनाए । ’परीक्षाजस्तो संवेदनशील विषयमा प्रश्नपत्र आउट गरेर कानुन उल्लंघन भएको छ, यसको भर्त्सना गर्छु,’ उनले भने, ’सरकार शान्तिपूर्ण रुपमा परीक्षा सञ्चालन गर्न प्रतिबद्ध छ ।’ उनले विद्यार्थीलाई आगामी परीक्षाको तयारीमा जुट्नसमेत आग्रह गरे । प्रदेश सरकार, स्थानीय तह, अभिभावक र विद्यार्थीलाई परीक्षाको वातावरण बनाउन उनले अपिल गरे । प्रश्नपत्र ’आउट’ गर्नेलाई कारबाही दायरामा ल्याउने प्रतिबद्धतासमेत पोखरेलले जनाए ।
बाँकी परीक्षाका लागि उच्च सतर्कता अपनाइएको र प्रश्नपत्रहरु सिलबन्दी गरी परीक्षण भइरहेको उनको भनाइ छ ।