संतोष रन्जितकार
वीरगंज, १५ चैत्र ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत परिक्षा बोर्डले प्रदेश नं २. का सम्पूर्ण जिल्लाहरुमा विज्ञान र सामाजिक शिक्षा विषयको परिक्षा रद्द गर्दै पुनः परिक्षा गर्ने निर्णय गरेको छ । बिहिबार विज्ञान र शुक्रबार सामाजिक शिक्षा विषयको परीक्षा अघि नै प्रश्नपत्र बाहिरीएपछि बोर्डले परिक्षा पुनः गर्ने निर्णय गरेको हो । परिक्षा बोर्डको उक्त निर्णयलाई फिर्ता लिन मांग गर्दै एसईई परिक्षा दिइरहेका विद्यार्थीहरुले शुक्रबार प्रदेश नं २ का मुख्य शहरहरुमा विरोध प्रदर्शन गरेका छन् । यसैक्रममा पर्साका सम्पूर्ण विद्यार्थी संगठनहरुले परिक्षा बोर्डलाई परिक्षा रद्दको निर्णय फिर्ता गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत मांग गरेका छन् ।
शुक्रबार नेपाल विद्यार्थी संघ पर्सा, समाजवादी विद्यार्थी फोरम नेपाल पर्सा, राष्ट्रिय विद्यार्थी संघ पर्सा, अखिल पर्सा र अखिल क्रान्तिकारी पर्साका विद्यार्थी नेताहरु जिल्ला प्रशासन कार्यालयमा पुगी प्रमुख जिल्ला अधिकारी नारयण प्रसाद भट्टराईमार्फत परिक्षा रद्दको निर्णय फिर्ता गर्ने, विद्यार्थी माथि बल प्रयोग गर्ने निकाय माथि कारवाही लगायतका मांग राख्दै संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका थिए । विद्यार्थी संगठनहरुले आफ्नो मांगहरु शुक्रबार दिउँसो सम्म पुरा नगरीए कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका थिए ।
ज्ञापन पत्र बुझाउनेमा नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रिय सदस्य सुधिर पटेल, बद्रि नारायण तिवारी, जिल्ला संयोजक विश्वासरंजन द्विवेदी, राष्ट्रिय विद्यार्थी संघका जिल्ला अध्यक्ष मधुसुदन चौरसिया, विद्यार्थी नेता सुमित चौरसिया, समाजवादी विद्यार्थी फोरम नेपालका केन्द्रिय सदस्य निखिल बरनवाल, प्रदेश सदस्य रोहित बरनवाल, जिल्ला अध्यक्ष एजाजबाबु रांकी, ठाराब एकाई उपाध्यक्ष शशिकान्त सर्राफ, विधार्थी नेता रुपक पटेल, अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य शिवम साह, ठाराब एकाई अध्यक्ष मेराजुल हवारी लगायतको उपस्थिति रहेको थियो ।