दोषीलाई कारवाहीको माग गर्दै प्रदर्शन

3

संतोष रन्जितकार
वीरगंज, १६ चैत्र ।
डाक्टर श्रीमानको कुटपिटबाट घाइते भएकी श्रीमती सुनीता यादवको उफचारको क्रममा शुत्रबार निधन भएपछि उनका आफन्त र अधिकारकर्मीहरुले दोषीलाई कारवाहीको माग गर्दै वीरगन्जमा शनिबार प्रदर्शन गरेका छन् । उनका आफन्त र अधिकारकर्मीहरुले शनिबार बिहान घण्टाघरमा दोषीलाई कडा भन्दा कडा कारवाहीको माग गर्दै प्रदर्शन गरेका हुन् । वीरगन्जमा रहेको नारायणी अस्पतालमा कार्यरत डा. सचितानन्द यादवको कुटपिटबाट घाइते भएकी श्रीमती सुनिता यादवको काठमांडौ स्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको सुनिताका आफन्त जयप्रकाश यादवले बताए ।
पाँच दिनदेखि काठमांडौमा उपचाररत सुनिता यादवको शुक्रबार सवा ५ बजे उपचारको क्रममा निधन भएको थियो । गत चैत ११ कुटपिटबाट घाईते भएकी सुनितालाई वीरगन्जको गण्डक हस्पिटलको आइसियूमा राखेर उपचार गरिएपनि उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं रेफर गरिएको थियो ।
१५ वर्ष पहिले वीरगन्ज महानगरपालिका–२० हरपतगन्ज निवासी यादवले बाराको परवानीपुर गाउँपालिका–५ बहुवरी निवासी सुनीतासँग मागी विवाह गरेका थिए ।
विवाहको दुई वर्षपछि नै सुनीताबाट सन्तान नभएको भन्दै उनले भारतको रक्सौल जगुवलियाकी एक युवतीसँग भारतकै अरेराजमा विवाह गरेका थिए ।
त्यस यता नै डा.यादवले सुनीतालाई मानसिक र शारीरिक यातना दिँदै आएको माइतीपक्षको भनाइ छ । दोषीलाई कारवाही गर्नुपर्ने माग सहित गरिएको प्रदर्शनपछिको कोणसभामा प्रदेशसभा सदस्य करिमा बेगम, सामाजिक अभियन्ता डा.सुष्मा तिवारी, प्रकाश थारु, विशेश्वर प्रसाद चौधरी, महिला नेतृहरु मोनिका सिंह, मुन्नी श्रीवास्तव, सुनिता साह, रम्भा मिश्रा लगायतको उपस्थिती रहेको थियो ।