सरकारद्वारा हुरी प्रभावित क्षेत्रमा सौर्य प्रणाली उपलब्ध गराइने

11

काठमाडौँ, १९ चैत्र ।
सरकारले हुरी प्रभावित बारा र पर्सामा तत्काल एक हजार थान सौर्य प्रणाली उपलब्ध गराई जडान गर्ने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आइतबार भएको छलफलमा हुरी प्रभावितलाई सहज रुपमा विद्युत् सेवा उपलब्ध गराउनका लागि सौर्य प्रणाली र सुधारिएको चुल्हो उपलब्ध गराउने जानकारी दिइयो ।
पीडित परिवारलाई राहत दिने लक्ष्यका साथ मन्त्रालयले आफ्नो तर्फबाट प्रभावकारी प्रयास गर्ने र आवश्यक सहजीकरणका लागि मन्त्रालय र मातहतका निकायले कार्ययोजनाका साथ प्रस्तुत हुने निर्णय गरेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले हुरीका कारण समस्यामा परेको नेपाल विद्युत् प्राधिकरणको प्रणालीलाई तत्काल सुधार गरी पूर्ववत् अवस्थामा ल्याउनसमेत निर्देशन दिनुभएको छ । आइतबार साँझ आएको हुरीका कारण बारा र पर्साका दुई हजारभन्दा बढी प्राधिकरणका खम्बा लडेका छन् ।
रक्सोल–परवानीपुर अन्तरदेशीय १३२ केभी प्रसारण लाइनमा क्षति पुग्दा भारतबाट आयात भइरहेको ७० मेगावाट विद्युत् प्रणालीबाट विच्छेद भएको छ । यस्तै सो क्षेत्रका ३३ र ६६ केभी क्षमताका प्रसारण लाइन तथा वितरण लाइनमा क्षति पुगेको छ । प्रसारण लाइनमा क्षति पुगेपछि हुरी प्रभावित क्षेत्रमा विद्युत् प्रणाली विच्छेद भएको छ ।