रेडियो वीरगंजद्वारा प्रभावितहरुलाई सोलार सेट प्रदान

6

संतोष रन्जितकार
वीरगंज, २० चैत्र ।
बाराको फेटा गाउँपालिकाका हावाहुरीबाट प्रभावित घरपरिवारलाई रेडियो वीरगंजले सोलार सेट प्रदान गर्ने भएको छ । रेडियोका प्रबन्ध निर्देशक ध्रुव साहका अनुसार एक सय १२ परिवारलाई तीन लाख रुपैयाँको खर्चमा एक–एक थान सोलार सेट वितरण गर्न लागिएको हो ।
आइतबार साँझ आएको हावाहुरीले बारा र पर्साका सयौँ घरबारबिहीन भएका छन् भने ३१ जनाको ज्यान समेत गएको थियो र करिब छ सय भन्दा बढी घाइते भएका थिए । हावाहुरीका कारण विद्युत आपूर्ति अवरुद्ध भएकाले सोलार सेट वितरण गर्न लागिएको उनले स्पष्ट पारे । प्रति सेट ३ हजार पर्ने साढे ५ वाट क्षमताको सोलार दिनमा चार्ज भइ रातभर बत्ती बाल्न सकिने निर्देशक साहले बताए । उनका अनुसार एउट सेटमा ५ घण्टा ३ बल्ब बाल्न सकिन्छ । सोलार सेटबाट एउटा मोबाइलसमेत चार्ज हुने सिस्टम छ ।
एउटा बल्व बाल्दा २४ घण्टा बल्छ । सोलार सेटमा आकस्मिक बल्ब पनि रहेको छ । रेडियो वीरगंजले गाउँमै पुगेर सोलार वितरण गर्ने भएको छ ।