हावाहुरीको जन्जालमा सबै व्यस्त, तस्करीको लाइन दिएर सशस्त्र प्रहरी मस्त

19

वीरगंज,२१ चैत ।
बारा र पर्सामा आइतबार साँझ आएको बंगडेरा चक्रवात हावाहुरीको कारण भएको धनजनको क्षतिमा शोकमग्न भएको अवस्थामा सिमामा खटेको सशस्त्र प्रहरी र नेपाल प्रहरीले यसलाई कमाउने अवसरको रुपमा लिएका छन् ।
सिंगो संयन्त्रको ध्यान हावाहुरीबाट पीडित भएकाहरु तर्फ केन्द्रित भएको बेला तस्करहरुले फालेको जुठो चाटेर सशस्त्र र नेपाल प्रहरीका सिमामा खटेका प्रहरीहरु तस्करहरुसंग बिकेको पोल स्वयं प्रहरीले नै खोलिदिएको छ ।
जितपुर प्रहरीले तस्करीको सामान लोड भएको ना५ख ७९८४ नम्बरको ट्रकबाट २२ पोका कपडा बरामद गरेर स्वयं सिमानाकाका प्रहरीहरु बिकेको प्रमाणित गरिदिएको छ । वीरगंज भन्सार राजश्व गस्ति टोलीका प्रमुख तिलक खड्का सशस्त्र प्रहरीका ठुलो हाकिमको नातेदार भएको कारणले माथिबाट नै उनलाई कमाउन छुट दिइएको बताइन्छ ।
खड्काकै रकमी बानीको कारणले गर्दा वीरगंज भन्सारले चाहे जतिको राजश्व संकलन गर्न नसकेको यथार्थ सबैको सामु छर्ल· भएतापनि त्यहाँ तै चुप मै चुपको स्थित रहेको छ । वीरगंज भन्सार सबैलाई सुनको फुल दिने अड्डा भएको कारण खाईपाई अनुसारको रकम बुझेर सबै मस्त भएको बताइन्छ ।
अहिले नेपाल प्रहरीले तस्करी रोक्ने दायित्व बोकेर हरेक भन्सार र सिमामा सशस्त्र प्रहरी अड्डा जमाएर बसेको छ । नेपाल प्रहरीको काम समाजभित्र शान्ति सुरक्षा कायम गर्ने हो । सिमा सम्बन्धि झन्झट र तस्करी नियन्त्रण गर्ने मुख्य अभिभारा बोकेको सशस्त्र प्रहरीले पैसा खाएर लाइन दिने र त्यसको दायित्व हामीले लिनु ? यो न्यायोचित नभएको एक नेपाल प्रहरीका अधिकृतले नाम उल्लेख नगर्ने शर्तमा जानकारी गराए ।