राप्रपाले मृतकका परिवारलाई साढे १२ हजार दिने

7

वीरगंज, २२ चैत्र ।
बारा पर्सामा भएको हावाहुरीमा परी मृत्यु भएका पीडित परिवारलाई राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा ) संयुक्तले पनि साढे १२ हजारका दरले राहत दिने भएको छ। घटनास्थलको अनुगमन र घाइतेलाई भेटेपछि शुक्रबार वीरगन्जमा पत्रकार सम्मेलन गर्दै राप्रपा संयुक्तका अध्यक्षद्वयले यस्तो बताएका हुन्। मृतक सदस्यका परिवारलाई तुरुन्त राहत दिन पार्टीका समर्थक रामबहादुर थापाको संयोजकत्वमा ३ सदस्य टोली पनि बनाइएको अध्यक्ष मध्ये पशुपति शमशेर राणाले बताए। राहत प्याकेजको घोषणा र राहत आउने क्रम तीव्र चलिरहेको समयमा राप्रपा संयुक्तले पनि राहत दिने जनाएको हो। राहत आउने क्रम राम्रो रहेछ। तर त्यसलाई व्यवस्थित पार्न राज्य पक्ष भने चुकिरहेको दुवै अध्यक्षद्वयले बताए। अर्का अध्यक्ष प्रकाशचन्द्र लोहनीले घरवारविहीन र पीडित परिवारलाई कसरी सुरक्षित छानोमुनी ल्याउने भन्ने सवालमा केन्द्र र प्रदेश सरकारले घोषणा गरे अनुसार चुस्त कार्य सम्पादन गर्न ढिलो भएको उनले बताए। पछिल्लो समयमा बढि भूमिका प्रदेश सरकारको हुने हुँदा २ नम्बर प्रदेश सरकारले घोषणा गरेको ३ लाख मात्रले पीडित परिवारको कुशल व्यवस्थापन हुन नसक्ने उनले तर्क गरे। ॅप्रदेश सरकारले घोषणा गरेको ३ लाख अलि बढाउनु पर्छ’ उनले भने। आफूहरूले घटनास्थल र घाइतेहरूको वास्तविक अवस्था बुझे अनुसार केन्द्र सरकारलाई बर्षात् अगावै विचल्लीमा परेका परिवारलाई छानो मुनी ल्याउन तीव्र गतिमा काम गर्न दवाव दिने पनि अध्यक्षद्वयले बताएका छन्।