नेशनल मेडिकल कलेजद्वारा घाइतेहरुसंग जबरजस्ती रकम असुली, बाबा इन्टरनेशनल खरिद प्रकरणमा पचास लाखभन्दा बढीको घोटाला

19

वीरगंज, २३ चैत्र ।
कुनै नेता अभिनेता वीरगंज आएपछि फेसियल गराइ संगै फोटो खिचाएर आफ्ना अनुचरहरुसंग सामाजिक संजालमा फोटो पोस्ट गराउने नेशनल मेडिकल कलेज शिक्षण अस्पतालका प्रबन्ध निर्देशक बसरुद्दिन अंसारीको लागि यो हावाहुरीबाट उत्पन्न मानवीय समस्या नगद कमाउने माध्यम बनेको छ । हावाहुरीमा घाइते भएकाहरुको सम्पूर्ण उपचार प्रदेश सरकारले घोषणा गरेपनि उनको अस्पतालमा उपचार गराइरहेका घाइतेसंग पैसा लिने गरेको भिडियो सार्वजनिक भएको छ । चैत्र १९ गते नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा नेशनल मेडिकल कलेजमा बिरामीहरुको निरिक्षण गर्न जांदा कलेजका अध्यक्ष डा. जैनुद्दिन अंसारीले आफ्नो रु. १ करोड भन्दा बढी बिरामीहरुको उपचारमा खर्च भएको भनेर नक्कली बिल भर्पाइ बनाएर सरकारलाई ठग्ने आधारभूमि बनाएका थिए ।
वीरगंज भन्सारमा माल पास गराए जस्तै एक भाग सरकार, एक भाग कर्मचारी र एक भाग व्यापारी जस्तै अहिले एक भाग प्रदेश सरकार, एक भाग अस्पताल र एक भाग संचालकहरुको भनेर अनियमीत तरिकाले बिल भर्पाइ तयार भइरहेको बताइन्छ । नेशनलमा उपचार गराइरहेका बिरामीहरुसंग पैसा लिइरहेको दृश्य सरकारी टेलिभिजनले नै देखाएर अंसारी ब्रदर्शको पोल खोलेको छ । सांसद बिमल प्रसाद श्रीवास्तवको नगवास्थित बाबा इन्टरनेशनल खरिद प्रकरणमा पनि अंसारी ब्रदर्शले नेपाल सरकारको ५० औं लाखभन्दा बढी राजश्व मारेर पर्सा मालपोतबाट कागजात गायब गराएको बुझिएको छ ।