वीरगन्ज, २४ चैत्र ।
वीरगन्ज महानगरपालिकामा कर्मचारीको आन्दोलनका कारण आठ दिनदेखि आक्सिमक सेवा बाहेक सबै कामकाज ठप्प छ । स्थानीय तह अन्तर्गत कार्यरत पाँच सय ७० कर्मचारी चैत १७ गतेदेखि नै महानगरपालिका कार्यालयका वारुणयन्त्र महाशाखा बाहेक अरु सबै महाशाखा र शाखामा तालाबन्दी गरेर धर्नामा बसेका छन् ।
स्थानीय तहका स्थायी कर्मचारीको निजामती सरह वृत्ति विकास र बढुवा हुनुपर्ने, करार र ज्यालादारीमा कार्यरतको रोजगारीको ग्यारेन्टी गर्नुपर्ने, तहगत दरबन्दी लागु गर्नुपर्ने लगायतका मांगहरु आन्दोलनरत कर्मचारीहरुको रहेको छ ।
महानगरपालिकामा एक सातादेखि तालाबन्दी नै गरेर कर्मचारी आन्दोलनमा रहेका कारण कार्यालयमा पुग्ने सेवाग्राही दिनहु निराश भएर फर्किने गरेका छन् । यसका साथै विकास निर्माणका योजना र कार्यालयका प्रशासनिक कामकाज पनि प्रभावित भएको छ ।
कर्मचारीको मागको सम्बोधन संघीय कानुनसँग जोडिएको विषय भएकाले महानगरपालिकाले पूरा गर्न नसक्ने मेयर विजय सरावगीको भनाइ रहेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि कर्मचारीको मांग कानुन सम्मत नरहेकाले तत्कालै सम्बोधन हुने अवस्था नरहेको स्पष्ट पारिसकेको छ ।
आन्दोलनरत कर्मचारीलाई आन्दोलन फिर्ता लिएर काममा फर्कन महानगरपालिकाका मेयर विजयकुमार सरावगीले पटक–पटक आग्रह समेत गरिसकेको भएपनि कर्मचारीहरुले धर्ना कार्य रोकेका छैनन् ।
वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले काममा नफर्किने कर्मचारीलाई कारबाहीको चेतावनी दिएका छन् । नगर प्रमुख बिजय कुमार सरावगीले आवश्यकताभन्दा बढी बाठो बन्न खोजेको कारणले गर्दा उनकै पार्टीका नेताहरुले यो समस्या निम्त्याएको बताइन्छ । कर्मचारीहरु पनि नपढेलेखेका होइनन्, कानूनमा के छ उनीहरुलाई थाहा छ तर पनि उनका आकाहरुले भनेको कारणले गर्दा उनीहरु सरावगीलाई आलोचित बनाउन यो कदम उठाएको बताइन्छ ।