पीडितहरुलाई शैक्षिक एवं खेलकुद सामग्री वितरण

14

भरवलिया (बारा), २४ चैत्र ।
हुरी प्रभावित बस्तीका करिब सात सय बालबालिकालाई अनेरास्ववियूका विद्यार्थी नेताले खेलकुद र शैक्षिक सामाग्री वितरण गरेका छन् । हुरीले घर भत्काएपछि शैक्षिक सामाग्री समेत गुमाएका फेटा गाउँपालिकाको भरवलिया र कलैया उप–महानगरपालिकाको मनगढवाका बालबालिकालाई अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीका विद्यार्थी नेताले शैक्षिक र खेलकुद सामाग्री वितरण गरेका हुन् ।
अखिलकी केन्द्रीय सचिव आरती लामाले घर भत्किएसँगै शैक्षिक सामाग्री पुरिएकाले बालबालिकालाई कापी, कलम, पेन्सिललगायत अन्य शैक्षिक सामाग्री वितरण गरिएको बताइन् । विद्यालय जाने र नजाने सबै बालबालिकालाई सामाग्री वितरण गरेका छौ,जसले गर्दा विद्यार्थीले टेन्टमै बसेर भएपनि पढ्न सकुन, लामाले भनिन् ।’ हावाहुरीका कारण पढ्न जाने विद्यार्थीहरुमा परेको मनोवैज्ञानिक असरबाट मुक्त गराउनका लागि शैक्षिक सामाग्री वितरण गरिएको लामाको भनाई छ । शैक्षिक सामाग्री पाएपछि बालबालिका खुशी देखिएका थिए ।
यसैगरी अखिलले गाउँका युवाहरुलाई समूह बनाएर खेलकुद सामाग्री समेत वितरण गरेको छ । अध्ययनसँगै विद्यार्थीलाई खेलकुदमा व्यस्त गराउनका लागि महिला र पुरुषको समूह बनाएर सामाग्री वितरण गरेको अखिल क्रान्तिकारीका केन्द्रीय सचिव सुर्यनारायण साहले बताए ।
दुवै संगठनले यसअघि एसईई परीक्षार्थीलाई अध्ययनका लागि टर्च वितरण गरेका थिए भने उनीहरुलाई परीक्षा अवधीभर परीक्षा केन्द्रमै बस्ने वातावरण बनाएका थिए ।