जनकपुरधाम, २४ चैत ।
प्रदेश नं. २ को सरकारले विनाशकारी हुरीमा परी ज्यान गुमाएकाहरुको सम्झनामा चैत्र ३० गते शोक मनाउने घोषणा गरेको छ ।
राष्ट्रिय शोक घोषणा गर्न गरेको आग्रहलाई संघीय सरकारले अस्वीकार गरेपछि प्रदेश सरकार आफैंले निर्णय लिएको हो । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले मृतकहरुको १३ औं दिनको पुण्य तिथिमा चैत्र ३० गते शोक मनाउने निर्णय गरेको छ ।
त्यसदिन बिहान ११ बजेर २ मिनेटमा आम नागरिक, कर्मचारीसहित प्रदेशका सबैलाई सामूहिक रुपमा मौन धारण गर्न प्रदेश सरकारले आहृवान समेत गरेको छ ।
बैठकले मृतक परिवारलाई किरिया खर्च वापत तत्काल २५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलले जानकारी दिए ।
१८ चैत्रमा आएको विनाशकारी हुरीका कारण बारा र पर्सामा अहिलेसम्म २८ जनाको ज्यान गएको छ ।