बेमौसममा परेको पानीले हावाहुरीमा पीडित भएकाहरु बिचल्ली

5

संतोष रन्जितकार
वीरगञ्ज, २४ चैत्र ।
घरबार गुमाएका बारा र पर्साका हावाहुरी पीडित पानी परेपछि थप बिचल्लीमा परेका छन् । हुरीले घर उडाउँदा त्रिपालमुनि बसिरहेका पीडितहरु शनिबार राति र आइतबार पानी परेपछि थप बिचल्लीमा परेका हुन् ।
विशेष गरी बालबालिकालाई थप समस्या भएको छ । आकाशमा बादल लागेपछि पनि बालबालिकाहरु डराउन थालेका छन् ।
हुरीले सबैभन्दा धेरै प्रभावित बाराको फेटा गाउँपालिकाका ६ की कुन्ती देवीले राति पानी परेपछि बालबालिकाहरुले सुत्न नै नमानेको बताइन् ।
ॅबादल लागेपनि फेरि उस्तै हुरी चल्छ कि भनेर बालबालिहरु रुने गरेका छन् त्यसैमा पानी परेपछि रातभर सुतेका छैनौँ’, कुन्तीले भनिन् ।
यस्तै हुरी प्रभावित क्षेत्रमा सामूहिक मेस बन्द भएपछि पीडितहरुले खाना खान नसकेको बताएका छन् । सहयोगी दाताहरुले दाल चामल दिएका भएपनि पकाउने भाँडाको अभावमा खाना खान नसकेको फेटा ६ कै विरेन्द्र राउतले बताए ।
ॅसामूहिक मेस बन्द भयो, दाल चामल त पाइएको छ तर पकाउने भाँडा छैन, सबै हुरीले लग्यो, कसरी पकाएर खाने?’ राउतको भनाइ रहेको थियो ।