प्रधानसेनापतिद्वारा हावाहुरीबाट प्रभावित क्षेत्रको स्थलगत निरिक्षण, दुई महिना भित्र पीडितहरुलाई घर बनाएर दिने प्रधानसेनापतिको प्रतिवद्धता

17

संतोष रन्जितकार
वीरगन्ज, २५ चैत्र ।
बारा र पर्साका हुरी प्रभावितको घर निर्माणको जिम्मा पाएको नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले विनशाकारी हावाहुरीबाट प्रभावित पर्सा र बाराका गाँउहरुको सोमबार स्थलगत निरीक्षण गरेका छन् ।
हुरीले घरबारविहीन भएकाहरूका लागि संघीय सरकारले स्थायी घर निर्माण गरिदिने निर्णय चैत २२ गते गरी यसको जिम्मा नेपाली सेनालाई दिएको हो ।


सोमबार दिउँसो बाराको फेटा गाउँपालिका १ भलुही, भरवलीया र वडा नम्बर ६ पुरैनियामा हेलिकप्टरबाट पुगेका प्रधानसेनापति थापाले हुरी प्रभावितलाई भेटेर घर निर्माणका लागि जति सक्दो छिटो जग्गा उपलब्ध गराउन आग्रह गरे ।
निर्माण सुरु भएको दुई महिनामै घर निर्माणको काम सकेर पीडितहरूलाई हस्तान्तरण गर्ने लक्ष्य सेनाले लिएको प्रधानसेनापति थापाले बताए ।


लाजपूर्जा भएको नम्बरी जग्गा नभएका पीडितहरूका लागि भने सामूहिक आवास बनाउने योजना रहेको छ’, उनले भने, ॅजसको नम्बरी जग्गा छ, त्यसको विवरण हामीलाई छिट्टै उपलब्ध गराइदिन आग्रह समेत गरेका थिए । जो ऐलानी जग्गामा बस्दै आएका थिए, उनीहरूको हकमा भने प्रमुख जिल्ला अधिकारी र गाउँपालिका अध्यक्षले छलफल गरेर जग्गा उपलब्ध गराइदिए सुकुम्बासी पीडितहरूका लागि सामूहिक आवास बनाउने योजना रहेको उनले बताए ।
भरवलीयापछि प्रधानसेनापति थापाले सोमबार नै हुरीले प्रभावित बाराको परवानीपुर गाँउपालिका ४ चैनपुर, पर्साको सुखचैना, जगरनाथपुर गाँउमा पुगेर पनि स्थलगत निरीक्षण गरेका थिए ।
निरीक्षण टोलीमा प्रधानसेनापति थापासँगै बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेल, पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भटटराई, पर्साका प्रहरी उपरीक्षक रेवती ढकाल, बाराका प्रहरी उपरीक्षक सानुराम भट्टराई, गाउँपालिका अध्यक्ष, वडा अध्यक्ष लगायतको सहभागिता रहेको थियो ।