माइती नेपालद्वारा १० छात्राको आवासिय शिक्षाको सम्पूर्ण जिम्मा

3

संतोष रन्जितकार
वीरगञ्ज २५ चैत ।
चैत्र १७ गते आएको हावाहुरीबाट प्रभावित बारा र पर्साका अति विपन्न परिवारका १० छात्राको आवासिय शिक्षाको सम्पूर्ण जिम्मा माइती नेपालले लिएको छ । आगामी शैक्षिक शत्रदेखि माइती नेपालले उनीहरुको पढाइको जिम्मा लिन लागेको हो ।
माइती नेपालको काठमाण्डौं ंस्थित टेरेजा एकडेमीमा ५ बर्षदेखि १० बर्ष उमेर समूहका १० जना छात्रालाई १० कक्षा सम्म आवासिय रुपमा शिक्षा प्रदान गर्ने निर्णय गरेको छ । फेटा गाउँपालिकाको पुरैनिया, भलुही, भरवलिया, महागढीमाई नगरपालिकाको तेलगाई, सुवर्ण गाउँपालिकाको प्रशुरामपुर, हर्दिया र देवताल गाउँपालिकाको रामपुरवामा पुगेर वस्तुस्थिति अवलोकन गरी स्थानीय जनप्रतिनिधिसँग सल्लाह गरेर १० जना बालबालिकको छनोट गरिएको माइती नेपालले जनाएको छ ।
हावाहुरीका कारण परिवारका सदस्य गुमाएका, आर्थिक अवस्था कमजोर भएका, दलित परिवारका १० जना बालिकालाई बालगृहको संरक्षणमा लैजाने निर्णय गरेको माइती नेपालका चितवन कार्यक्रम संयोजक इश्वर गिरिले जानकारी दिइन् ।
छनोटमा परेका बालिकाहरुलाई माइती नेपालले अगामी वैशाख १० गतेबाट भर्ना गराई अध्ययन कार्य प्रारम्भ गराउने माइती नेपाल मकवानपुर कार्यक्रम संयोजक माया लामाले बताइन् ।