काममा फर्किए महानगरका कर्मचारीहरु

10

संतोष रन्जितकार
वीरगन्ज, २६ चैत ।
विभिन्न माग राखेर आन्दोलनरत वीरगञ्ज महानगरपालिकाका कर्मचारीहरु काममा फर्किएका छन् । चैत १७ गतेदेखि आन्दोलन गर्दै आएका महानगरका कर्मचारीहरु तत्कालका लागि आन्दोलन स्थगित गरेर काममा फर्किएका हुन ।
महानगरपालिकाको कार्यालयमा बार्तामा कर्मचारीहरुले उठाएको माग पूरा गर्ने सहमति भएपछि उनीहरु काममा फर्किएका हुन ।
बार्तामा महानगरपालिकाकी उपमेयर शान्ति कार्की, प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेत, कार्यपालिका सदस्य र महानगरका ३२ वटै वडाको वडाध्यक्षहरुको सहभागिता रहेको थियो ।
बार्तामा महानगरका मेयर विजय सरावगी बाहिर रहेकाले उनी आएपछि फेरि कर्मचारीहरुले उठाएका मागहरुका बारेमा बार्ता बस्ने सहमति भएको हो । स्थानीयतहका स्थायी कर्मचारीहरुको निजामती सरह वृति विकास र बढुवा हुनु पर्ने, करार र ज्यालादरीमा कार्यरतहरुको रोजगारीको ग्यारेन्टी गर्नु पर्ने, तहगत दरबन्दी लागू गर्नु पर्ने लगायतका माग राखेर महानगरका कर्मचारीहरु बारम्बार आन्दोलन गर्दै आएका छन् ।
उनीहरुले आफना माँग पूरा नभए फेरि आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । सेवाग्राहीहरुको मर्कालाई ध्यानमा राखेर अहिलेका लागि काममा फर्किएको भएपनि कर्मचारीहरुले राखेका माँगहरु पूरा नभए आन्दोलनलाई निरन्तरता दिईने स्थानीय तह कर्मचारी संघ वीरगन्ज महानगरपालिका इकाइ अध्यक्ष मुकेश गुप्ताले बताए ।
यसअघि गएको ९ दिनदेखि महानगरका कर्मचारी सेवा नै ठप्प पारी आन्दोलनमा उत्रिएका कारण महानगरपालिकाबाट हुने गरेका काम कारवाहीहरु ठप्प भएका थिए ।