संतोष रन्जितकार
वीरगञ्ज, २९ चैत ।
व्यवस्थित वीरगञ्ज अभियानको शुक्रबार बसेको बैठकले विभिन्न कार्ययोजना पारित गरेको छ । अभियानलाई निरन्तरता दिँदै लैजाने उद्देश्यले कार्ययोजना पारित गरिएको हो । पर्साका प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईको विशेष उपस्थितिमा बसेको बैठकमा अभियान मार्फत हालसम्म भएका गतिविधिको समिक्षा गर्नुको साथै आगामी कार्ययोजना पारित गरिएको अभियानका सचिव दामोदर यादवले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले विर्ता मन्दिरदेखि उत्तर तर्फ दुई नम्बर रोडलाई वान वे गर्न बैशाख २ गतेदेखि वीरगञ्ज महानगरपालिकाले माईकिङ गर्ने, मकालुचोकदेखि विर्तासम्मको सवारी चाप कम गर्न बैशाख ५ गतेदेखि वान वे कार्यान्वयनमा ल्याउने, ट्राफिक व्यवस्थापनमा चुनौति बनेको ई–रिक्सालाई व्यवस्थित बनाउन वीरगञ्ज महानगरपालिका र यातायात व्यवस्था कार्यालयको बैठक बसाउने निर्णय गरेको छ ।
त्यसैगरि बैठकले ट्राफिक व्यवस्थापनमा भूमिका निर्वाह गरेका विद्यालयका कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरुबीच ॅव्यवस्थित वीरगञ्ज अभियानमा मेरो भूमिका’ विषयक निबन्ध प्रतियोगिता गराउने निर्णय समेत गरेको छ । प्रतियोगिता सञ्चालन गर्नका लागि अभियानका संयोजक प्याब्सनका कोषाध्यक्ष सरोज चौधरीको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गरिएको थियो ।
समितिको सदस्यहरुमा अभियानका संयोजक दिलिपराज कार्की, दामोदार यादव र रेयाज अन्सारी रहेका छन् । बैठकमा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले व्यवस्थित वीरगञ्ज अभियान मार्फत सरकारी कार्यालयको सरसफाईको अवस्था हेरेर छनौट गरी पुरस्कृत गर्ने, नगरभित्र रहेका सफा टोललाई पुरस्कार प्रदान गर्ने, निर्माण भएका पार्कको व्यवस्थापन र नयाँ निर्माण, पार्किङ व्यवस्थापन र हर्न निषेध, नियमित सरसफाई अभियान सञ्चालन गर्ने, पछिल्लो विद्यार्थी आन्दोलनमा भत्किएका संरचना पूनः निर्माण गर्ने, मुलुककै प्रवेशद्वार शंकराचार्य गेटदेखि दक्षिण तर्फको भागलाई सुन्दर बनाउन पहल गर्ने लगायतका कार्य गर्न सुझाव दिनुभयो । बैठकमा प्रहरी उपरीक्षक रेवती ढकाल, वीरगञ्ज महानगरपालिकाका अधिकृत सुमन श्रेष्ठ, ट्राफिक प्रहरी निरीक्षक राज सिंह ठकुरी, वडा अध्यक्षहरुले अभियान मार्फत आगामी दिनमा चाल्नुपर्ने कदमका बारेमा चर्चा गरेका थिए । कार्यक्रममा वडाअध्यक्षहरु तुफान अंसारी, बैजु स्वर्णकार, जगत प्रसाद साह कानु, प्रधुम्न सेढाई, ग्रीन सिटी सामुदायिकका अध्यक्ष प्रकाश खेतान, माट्रीका आई फाउण्डेशनका डा. महेश सिंह धामी, सानो पाइलाका अजितम पाण्डे लगायतको उपस्थिती रहेको थियो ।