संतोष रन्जितकार
वीरगंज, ६ बैशाख ।
जन्मसिद्ध नागरिकका सन्तान वंशजको नागरिकता लिन जिल्ला प्रशासन कार्यालय पर्सामा भीड लागेका छन । गृहमन्त्रालयले ७७ ओटै जिल्ला प्रशासन कार्यालयलाई जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता दिन परिपत्र जारी गरेको र उक्त परिपत्र कार्यान्वयन गर्न सर्वोच्च अदालतले आदेश दिएपछि नागरिकता लिन आउनेको भीड लाग्न थालेको छ ।
मधेस र पूर्वी नेपालका जिल्लालगायत मुलुकभरका जन्मसिद्धका आधारमा नागरिकता लिएका नागरिकहरुको सन्तानले वंशजको नागरिकता लिन जिल्ला प्रशासन कार्यालय पुग्न थालेका हुन । पर्सा जिल्लामा यसरी नागरिकता लिन आउनेको भीड व्यवस्थापन गर्न प्रशासन कार्यालयलाई हम्मेहम्मे परेको छ । जसका लागि प्रहरी पनि परिचालन गरिएको छ ।
प्रहरी परिचालन गर्दा पनि नागरिकता लिनेको भीड नियन्त्रण नभएपछि जिल्ला प्रशासन कार्यालय पर्साले हरेक दिन १०० जनालाई मात्र नागरिकता दिने भएको छ । टोकनका आधारमा प्रत्येक दिन १०० जनालाई नागरिकता दिने प्रणाली अपनाइएको पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।
पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी शर्माले टोकनमा उल्लेखित पालोभन्दा अगाडिपछाडि नगरी पालैस“ग काम गर्दै जानुपर्ने अवस्था आएको बताए । केवल जन्मसिद्धका सन्तान मात्र नभएर प्रशासन कार्यालयले त दैनिक नागरिकता बनाउन आउने अरु वंशजवालाहरूलाई पनि दिनुपर्ने हुन्छ । दैनिक सरदर ७० नागरिकता प्रदान गरिरहेको जिल्ला प्रशासन कार्यालयले जन्मसिद्धका सन्ततिले वंशजको नागरिकता पाउने भनेपछि थामिनसक्नु भीड जिल्ला प्रशासन कार्यालयमा आएको त्यहा“का कर्मचारीले जानकारी दिए ।
गृह मन्त्रालयले चैत १९ गते देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरी जन्मका आधारमा नागरिकता पाएका बाबुआमाका सन्तानलाई वंशजका आधारमा नागरिकता दिन परिपत्र जारी गरेको थियो ।
उक्त परिपत्र खारेज गर्न सर्वोच्चमा रिट परेपछि केही दिन रोकिएको नागरिकता वितरण कार्यक्रम सर्वोच्चले वैशाख ३ गते गरेको आदेश अनुसार फेरि सुरु भएको हो । सर्वोच्चको आदेशपछि वडा कार्यालयहरूमा सिफारिस बनाउने र जिल्ला प्रशासनमा नागरिकता बनाउनेको भीड ह्वात्तै बढेको हो ।