प्रदेश नं. २ का साना मिडिया लगानीकर्ताको भेला सम्पन्न, सरकारसंग पत्रकारहरु जुध्न पनि हुंदैन मिल्न पनि हुदैंन ः सभापति बिडारी

6

गौर, ७ बैशाख ।
राष्ट्रिय सभाका सांसद, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापति रामनारायण बिडारीले पत्रकारहरु सरकारसंग जुध्न पनि नहुने र मिल्न पनि नहुने भन्दै सरकारले गरेका राम्रो कामको प्रचार र गलत कामको विरोध गर्नुपर्ने बताउनु भएको छ । नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य तथा साना लगानीका मीडिया हकहित तथा संरक्षण समितिको संयोजक गोविन्द चौलागाईको अध्यक्षतामा चन्द्रनिगाहपुरमा आयोजित प्रदेश नं. २ को साना मिडिया लगानीकर्ताहरुको भेला शनिबार सम्पन्न भएको छ । सोही भेलालाई सम्बोधन गर्दै बिडारीले प्रदेश नं. २ का जनताहरु सिमा रक्षक भएको भन्दै उनीहरुको सम्मान हुनुपर्ने चर्चा गर्दै तर रौतहटको साक्षरता दर पहाडभन्दा पनि किन कम भयो भनी पत्रकार र सरकार दुवैको चासोको विषय बन्नुपर्ने बताउनु भयो ।


सो कार्यक्रममा प्रदेश नं.२ का सांसद तथा भौतिक पूर्वधार विकास राज्य मन्त्री डिम्पल झा, प्रतिनिधि सभा सदस्य अनिल कुमार झा, नेपाल पत्रकार महासंघका केन्द्रिय सचिब द्धय रामप्रसाद दाहाल र सितल महतो, नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का अध्यक्ष दीपेन्द्र चौहान, उपाध्यक्ष केसी लामिछाने, सूचना तथा प्रशारण विभागका महानिर्देशक बालकृष्ण घिमिरे, रौतहटका प्रमुख जिल्ला अधिकारी किरण थापा, नेकपाका केन्द्रिय सदस्य युवराज भट्टराई समिर, राजपुर नगरपालिकाका नगर प्रमुख शेख सकिल लगायतले साना मिडिया लगानीकर्ताहरुको अवस्था बारे बोल्नुभएको थियो ।
साना लगानीका पत्रपत्रिकाहरुको सन्दर्भमा सरकारले अपनाउंदै आएको कठोर नियमको सन्दर्भमा आठै जिल्लाबाट उपस्थित भएका पत्रकारहरुले कडा आलोचना गरेका थिए । सो भेलामा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सुरेश कुमार यादवको संयोजकत्वमा बनाइएको एक समितिले चपुर घोषणा पत्र भन्दै १५ बुंदे घोषणापत्र जारी गर्‍यो । सो घोषणा पत्रमा पत्रकारहरुले भोग्दै आएको कठिनाई र पिडाहरु समेटिएका छन् । सो भेलामा नेपाल पत्रकार महासंघका आठै जिल्लाका सभापति लगायतका पत्रकारहरुको उल्लेखनीय उपस्थिती रहेको थियो ।