नियत सफा नभएपछि नीति राम्रो बन्दैन ः मुख्यमन्त्री गद्दी

7

वीरगंज, ८ बैशाख ।
प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले नियत सफा नभएपछि नीति पनि राम्रो नबन्ने आरोप लगाउनु भएको छ । एभीन्युजद्वारा एजेण्डा ः समृद्धि सपना, प्रादेशिक विकास बहस सम्बन्धी वीरगंजको सभागृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गद्दीले समृद्धिको लागि सुतेर सपना हेर्ने होइन भन्दै समृद्धिको सपनाले मान्छेलाई सुत्न दिंदैन भन्दै उनले वर्तमान संघीय सरकार दुई तिहाईको सरकार भएतापनि उसको काम गराईको कारणले गर्दा समृद्धि धेरै टाढा भएको बताउनु भयो ।


गद्दीले आफ्नो प्रदेश अत्यन्त पिछडिएको भएतापनि बहुसंख्यक जनताहरु यही प्रदेशमा बस्ने भएको र बेरोजगारी समस्या पनि यही प्रदेशमा टड्कारो भएतापनि संघीय सरकारले बजेट बनाउंदा यो प्रदेशलाई उपेक्षा गरेको आरोप लगाउनु भयो ।
सो कार्यक्रममा सम्बोधन गर्दै उद्योगपति जगदिश अग्रवालले अहिले नेपालमा लगानीको सुरक्षित वातावरण सरकारले बनाउन नसकेको बताउनु भयो । वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले सरकारले वीरगंजका व्यापारीहरुको समस्याप्रति ध्यान नदिएको गुनासो गर्नुभयो ।
एभिन्युज नेटवर्कका अध्यक्ष भास्करराज कर्णीकारको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का अध्यक्ष दीपेन्द्र चौहान, वीरगंज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुबोध गुप्ता, पूर्व अध्यक्ष ओमप्रकाश शर्मा, प्रदिप केडिया, अशोक टेमानी लगायत थुप्रै सहभागीहरुले समृद्धिको सन्दर्भमा जिज्ञासा राखेका थिए ।