बिन्दवासिनी गापा अध्यक्ष मोदीद्वारा प्रमुख प्रशासकीय अधिकृतमा दासको पदभार ग्रहण

23

संतोष रन्जितकार
वीरगंज, २९ बैशाख ।
पर्साको बिन्दबासिनी गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृत सुजित साह हुदा पनि निमित प्रमुख प्रशासकिय अधिकृतमा राजेन्द्र बहादुर दासले पदभार ग्रहण गरेका छन । विन्दवासिनी कै ना.सु. दास निमित प्रमुख प्रशासकिय अधिकृतको पदभार ग्रहण गरेका हुन । एक कार्यक्रमका बिच आइतबार गाउँपालिका अध्यक्ष श्रीलाल साह कानु (मोदी) ले ना.सु. दासलाई फुलको माला र अबिरको टिका लगाई पदभार ग्रहण गराएका हुन ।
अध्यक्ष मोदीका अनुसार संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकिय अधिकृत साहको सरुवा गरको छ भने निमित प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी दासलाई दिई पठाए पछि पदभार ग्रहण गराइएको बताए । प्रशासकिय अधिकृत साहको जिल्ला समन्वय समिति पर्सामा सरुवा भएको अध्यक्ष मोदीले बताए ।
प्रशासकिय अधिकृत साहले रवाना लिई सकेको बारे बुझ्दा अहिले नलिएको उनले बताए । प्रमुख प्रशासकिय अधिकृत छदाछदै अर्को कर्मचारीले निमित्त प्रमुख प्रशासकिय अधिकृतले पदभार ग्रहण गर्न नियमले मिल्ने जिज्ञासा राख्दा अध्यक्ष मोदीले त्यो त कानुन आफुलाई थाहा नभएको प्रतिक्रिया दिए ।
यता सरुवा बारे आफुलाई केही थाहा नभएको प्रमुख प्रशासकिय अधिकृत साहले बताएका छन । काठमाण्डौमा रहेका अधिकृत साहले फोन सम्पर्कमा कुरा गर्दै आफु कार्यालयको कामले काठमाण्डौ आएको बेला एक्कासी अध्यक्ष मोदीले गाउँपालिका मै कार्यरत एक जना नासुलाई निमित प्रमुख प्रशासकिय अधिकृतको पदभार ग्रहण गराउनु भएको सुन्नमा आएको प्रतिकृया दिए । आफु काठमाण्डौबाट फर्के पछि यस बारे बुझेर बताउने उनले बताए । गाउँपालिकाको यस्तो कार्यशैलीले गाउँवासी आश्चर्यचकित भएका छन । यस्तो कार्यशैलीले गाउँपालिकाको कामकाज प्रभावित हुने गाउँवासीमा चिन्ता बढेको छ । गाउँपालिकाका एक कर्मचारीका अनुसार केही समय पहिला देखी नै प्रमुख प्रशासकिय अधिकृत साह र अध्यक्ष मोदी बिच दुरी बढेको थियो । त्यही भएर अध्यक्ष मोदीले प्रमुख प्रशासकिय अधिकृत साहको सरुवा गराई आफु अनुकुल काम गर्न सक्ने प्रमुख प्रशासकिय अधिकृत बनाएको हुनसक्ने उनले बताए ।
अध्यक्ष मोदीले चाहे अनुसार प्रमुख प्रशासकिय अधिकृत साहले गैरकानुनी काम नगरेका कारण दुरी बढेको ति कर्मचारीको भनाई रहेको थियो । प्रमुख प्रशासकिय अधिकृत साहको मन्त्रालयले सरुवा गरेको छ भने यस आर्थिक बर्षको विकास निर्माण काम प्रभावित हुने सम्भावना बढेको स्थानीयहरुले बताएका छन् । आर्थिक मसान्तको अन्तिम चरणमा आएर मन्त्रालयले प्रमुख प्रशासकिय अधिकृतको सरुवा गर्नुले असारे विकासको सम्भावना पनि बढेर गएको छ ।