एभिन्यूजको वीरगंज कार्यालयमा तोडफोड दोषीमाथि कारवाहीको मांग

8

वीरगंज, ३० वैशाख ।
आइतबार एभिन्युजमा पत्रकार सुनिल पाण्डेले उप–प्रधानमन्त्री उपेन्द्र यादवको लिएको अन्तर्वार्ता प्रसारित भएपछि सो सन्दर्भलाई लिएर वीरगञ्जमा रहको एभिन्यूज टेलिभिजनको कार्यालयमा सोमबार युवाको एक समूहले तोडफोड गरेका छन् । वीरगञ्ज महानगरपालिका–११ स्थित एभिन्यूजको कार्यालयमा समाजवादी पार्टीसंग आवद्ध छ/सात जनाको सङ्ख्यामा आएका युवाहरुको जमातले तोडफोड गरेका हुन् ।


मुख ढाकेर आएका युवाले गरेको आक्रमणमा कार्यालयको गेटको सिसा, ब्यानरलगायतमा क्षति पुगेको पर्सा प्रहरीले जनाएको छ । तोडफोड गर्नेमध्येका केही युवाको पहिचान भएको र उनीहरुको खोजी भइरहेको पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । उहाँले टेलिभिजन कार्यालयमा जडान भएको सिसी टिभीमा देखिएको तस्बीरको छानबिन भइरहेको र चाँडै घटनामा संलग्नलाई कारवाहीको दायरामा ल्याई छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यसैबीच एभिन्युजमा कार्यरत हरिशंकर शर्माले वीरगंज वडा नं. १२ का वडाअध्यक्ष तुफान अंसारीको नेतृत्वमा आएका टोलीले आफ्नो कार्यालयमा हमला गरेको र सो बारे पर्सा प्रहरीलाई सबै कुरा अवगत गराएको बताए ।
यसैबीच नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का महासचिव किरण कर्णले एक प्रेस विज्ञप्ति प्रकाशित गरी दोषीमाथि कडा कारवाहीको मांग गरेका छन् ।
यसैगरी नेपाल पत्रकार महासंघ पर्साले पनि सो कार्यको कडा भर्त्सना गरेको छ ।