सेनाद्वारा हावाहुरी पीडितको लागि घर निर्माण कार्य शुरु

8

संतोष रन्जितकार
वीरगंज, ३१ बैशाख ।
नेपाली सेनाले गत चैत १७ गते आएको हुरीबाट उठीबास लागेका बाराका स्थानीयको घर बनाइदिन थालेको छ । बाराको परवानीपुर गाउँपालिका वडा नम्बर–४ स्थित चैनपुरमा हुरीले क्षति पुर्‍याएका २१५ घरमध्ये पहिलो चरणमा ९३ घरको निर्माण सेनाले थालेको हो ।
चैनपुरका २१५ घरको निर्माणका लागि वीरगन्जस्थित नेपाली सेनाको चण्डीप्रसाद गणका सेनानी हरिकुमार पाण्डेको कमाण्डमा ४५० जना सेनाको टोली खटिएको छ । सेनाको टोलीले चैनपुरमै अस्थायी क्याम्प बनाएर हुरीपीडितको घर निर्माणलाई तीब्रता दिएको हो ।
ॅहामीले यहाँका हुरीपीडितको घर निर्माणलाई अघि बढाएका छौँ’, सेनानी पाण्डेले भने । ॅतीन चरणमा यहाँका घर निर्माण सक्ने योजनामा छौँ ।’ पाण्डेका अनुसार एक–एक महिना गरी तीन महिनामा सबै २१५ वटा नै घर बनाउने तयारी थालिएको छ । वैशाख २१ गते उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवसहितको टोली बारामा पुगेर घर निर्माणको शिलान्यास गरेका थिए ।
चैत १७ गतेको हुरीले बाराको फेटा र परवानीपुर गाउँपालिका सहितमा ठुलो क्षति पुर्‍याएको थियो । बारा र पर्सामा गएको हुरीले २७ जनाको ज्यान समेत लिएको थियो ।