एभिन्यूजको कार्यालय पर्सामा आक्रमण गर्नेहरु विरुद्ध किटानी जाहेरी दर्ता

31

संतोष रन्जितकार
वीरगन्ज, १ जेठ ।
एभिन्यूज टेलिभिजन ब्युरो कार्यालय वीरगन्जमा सोमबार समाजवादी पार्टीका कार्यकर्ताहरुले गरेको आक्रमण विरुद्ध टेलिभिजनले जिल्ला प्रहरी कार्यालय पर्सामा किटानी जाहेरी दिएको छ ।


टेलिभिजनका पर्सा संवाददाता हरिशंकर शर्मा सहित मुस्कान श्रेष्ठ तथा क्यामरामैन जाकिर हुसेनले कार्यालयमा तोडफोड गर्ने ५ जना विरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा किटानी जाहेरी दिएका हुन् । उनीहरुले तत्कालीन संघीय समाजवादी पार्टीबाट निर्वाचित भएका वीरगन्ज महानगरपालिका वडा नं. १३ का वडाध्यक्ष तुफान अन्सारी, कार्यकर्ता निखिल वर्णवाल, गौरव भन्ने दीपराज बर्मा, विशाल कुमार तथा नुरआलम विरुद्ध कार्यालयमा तोडफोड गरेको भन्दै किटानी जाहेरी दिएका हुन् ।


गत आइतबार राति ९ बजे ॅसकस राजनीति’ प्रत्यक्ष कार्यक्रममा टेलिभिजनका प्रश्नकर्ताले समाजवादी पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवलाई बद्नाम गरेको भन्दै समाजवादी पार्टीका कार्यकर्ताहरुले सोमबार वीरगन्ज स्थित एभिन्यूज टेलिभिजन कार्यालयमा तोडफोड गरेका थिए । मुखमा मास्क लगाई आएका आधा दर्जन भन्दा बढि कार्यकर्ताहरुको समूहले कार्यालयमा काम गरि रहेको बखत अचानक तोडफोड गरेर फरार भएका थिए ।
तोडफोड गरि कार्यालयबाट निस्कने क्रममा टेलिभिजनका क्यामरापर्सन जाकिर हुसेनले कैद गरेको भिडियो तथा कार्यालयमा रहेको सिसि टिभीमा रेकर्ड भएको भिज्जवलले तोडफोड गर्नेहरुको पहिचान भएको थियो ।
सोही क्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले आरोपितलाई चाँडो भन्दा चाँडो कारवाही गर्ने प्रतिबद्धता जनाए । उनले यस घटनामा संलग्न विरुद्ध किटानी जाहेरी दर्ता हुनुका साथै अन्य संलग्न व्यक्तिहरुको पनि पहिचान भइसकेकोले चाँडो भन्दा चाँडो उनीहरुलाई कानूनी दायराभित्र ल्याइने बताए ।